Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ प्लस
ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न साधारणसभाले बैंकको आर्थिक वर्ष २०८१–८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

यसैगरी सभाले बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि.को आर्थिक वर्ष २०८१–८२ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गरेको छ। साथै, सभाले बैंकको आर्थिक वर्ष २०८२–८३ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ।

बैंकको खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ।

स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानी मार्फत हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको दाबी गरेको छ।

यसै अवसरमा बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको जनाउँदै आर्थिक वर्षमा ४१ करोड करमा योगदान पुर्‍याएको जनाएको छ।

ज्योति विकास बैंकको हालको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सम्बन्धित समाचार