काठमाडौँ / चालु आर्थिक बर्षको ८ महिना (साउन–फागुन)को अवधिमा सार्वजनिक ऋण वृद्धिको तुलनामा ३८ अर्ब २ करोड रुपैयाँ बढी रकम साँवा व्याज भुक्तानीमा खर्च गरेको छ । सार्वजनकि ऋण व्यवस्थापन कार्यालयका अनुसार फागुन मसान्तसम्म २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ ऋण थपेको सरकारले २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ भने साँवा व्याज भुक्तानी गरेको हो । यस अवधिमा सरकारले ३ खर्ब ४६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
२९ खर्ब नजिक पुग्यो सार्वजनिक ऋण
आठ महिनाको अवधिमा सार्वजनिक ऋण २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँले बृद्धि भएको छ । कार्यालयको ऋण प्रतिवेदनअनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको हो ।
जुन कुल गार्हस्थ उत्पादनको ४७.१३ प्रतिशत हो । गत असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ लाई भाग लगाउँदा एक जना नेपालीको भागमा ९८ हजार ६ सय रुपैयाँभन्दा बढी सार्वजनिक ऋण भाग लाग्ने देखिन्छ ।
साँवा ब्याज भुक्तानीमा ठुलो रकम खर्च हुने र ऋण खोजेर व्याज तिर्नुपर्ने अवस्थाले गर्दा पछिल्लो समय सार्वजनिक ऋणको बृद्धिदर उकालो लागेको हो । त्यस्तै, डलरको भाउ बढेको कारण पनि सार्वजनिक ऋणको भार थपिएको देखिन्छ ।
विनिमय दरका कारण बाह्या ऋणमा ९७ अर्ब ९८ करोड रुपैयाँ भार थपिएको कार्यलयको प्रतिवेदनमा उल्लेख छ । ३ खर्ब ४६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको सरकारले यस अवधिमा १ खर्ब ९४ अर्ब १४ करोड भुक्तानी समेत गरेको छ ।
सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड र बाह्य ऋण १५ खर्ब ३० अर्ब १८ करोड पुगेको छ । जीडीपी अनुपातमा आन्तरिक ऋण २२.०७ प्रतिशत र बाह्य ऋण २५.०६ प्रतिशत पुगेको छ ।
लक्ष्यको तुलनामा बाह्य ऋण प्राप्ति कमजाेर
चालु आर्थिक बर्षको ८ महिनामा सरकारले लक्ष्यको ५०.४४ प्रतिशत ऋण प्राप्त गरेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण परिचालनको लक्ष्य राखेको थियो । जसमध्ये फागुन मसान्तसम्म ३ खर्ब ४६ करोड रुपैयाँ उठाइएको छ ।
फागुन मसान्तसम्म सरकारले २ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक र ५६ अर्ब ८० करोड रुपैयाँ मात्रै बाह्य ऋण उठाएको छ । तथ्याङ्क अनुसार यसअवधिमा सरकारले लक्ष्यको ६७.३१ प्रतिशत आन्तरिक ऋण उठाएको छ भने २४.३१ प्रतिशत बाह्य ऋण उठाएको छ ।
पछिल्लो समय नेपालमा देखिएको राजनीतिक अस्थिरता, आन्दोलनलगायतका कारणले लगानीकर्ताहरू हच्किएका कारण सरकारले लक्ष्यका तुलनामा बाह्य ऋण प्राप्ति कमजोर भएको देखिन्छ । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.१० प्रतिशत र बाह्य ऋणको हिस्सा १८.९० प्रतिशत रहेको छ ।
साँवा व्याज भुक्तानीमा कति भयो खर्च ?
सरकारले फागुन मसान्तसम्म साँवा व्याज भुक्तानीमा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक बर्ष २०८२/८३ मा ऋण सरकारले ऋण सेवा खर्चका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट छुट्याएको थियो । वार्षिक विनियोजनको आधारमा ५८.९४ प्रतिशत साँवा व्याज भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । कूल गार्हस्थ उत्पादनको आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।
फागुन मसान्तसम्म सरकारले आन्तरिक ऋण भुक्तानीवापत २ खर्ब ४ अर्ब ८० करोड खर्च गरेको छ । जसअन्तर्गत साँवा भुक्तानी १ खर्ब ६३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने ब्याज अन्तर्गत ४१ अर्ब २ करोड रहेको छ । यो रकम वार्षिक बजेट विनियोजनको आधारमा ६५.३५ प्रतिशत र ४४.१३ प्रतिशत हो ।
समीक्षा अवधिमा वाह्य ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ खर्चिएको छ । जसअन्तर्गत साँवा भुक्तानीमा ३० अर्ब ४२ करोड र व्याज भुक्तानीमा ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यो रकम विनियोजनको आधारमा ५८.६४ प्रतिशत र ४५.२३ प्रतिशत हो । प्रतिवेदनअनुसार फागुन मसान्तसम्म सरकारले १ खर्ब ९४ अर्ब १९ करोड रुपैयाँ साँवा भुक्तानी र ४८ अर्ब ६ करोड रुपैयाँ व्याज भुक्तानीमा खर्च गरेको छ ।
कुन महिनामा कति थपियो ऋण ?
सार्वजनिक खर्च बढ्नु, वैदेशिक अनुदान घट्नु, राजस्व परिचालन अपेक्षाअनुसार नहुनु, उत्पादनमूलक र पुँजीवृद्धि हुने क्षेत्रमा लगानी खुम्चिएका कारण पछिल्लो समय नेपालमा सार्वजनिक ऋणको ग्राफ उकालो लागिरहेको छ ।
चालु आर्थिक बर्षको हरेक महिनामा सरकारले २३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको प्रतिवेदनमा उल्लेख छ । सरकारले सबैभन्दा कम असोजमा २३ अर्ब ४१ करोड रुपैयाँ र सबैभन्दा बढी फागुन महिनामा ४४ करोड ८४ अर्ब रुपैयाँ ऋण प्राप्त गरेको छ । त्यस्तै, साउनमा ४४ अर्ब ६६ करोड रुपैयाँ, भदौमा ३६ अर्ब १८ करोड, कार्तिकमा ३८ करोड ३६ लाख, मंसिरमा ३६ करोड ४३ लाख र माघमा ४१ अर्ब ५ करोड रुपैयाँ ऋण प्राप्त गरकोे छ ।
