काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा ओमोडा एन्ड जेइकोका आधिकारिक वितरकका रूपमा नयाँ ओमोडा ई–फाइभ प्रो विद्युतीय एसयूभी सार्वजनिक गरेको छ । नेपाली बजारमा यसअघि एक हजार ५०० भन्दा बढी युनिट बिक्री भइसकेको ओमोडा ई–फाइभको सफलतालाई निरन्तरता दिँदै कम्पनीले थप उन्नत प्रविधि, आधुनिक फिचर तथा प्रिमियम अनुभवसहित नयाँ संस्करण ल्याएको हो ।
कम्पनीका अनुसार, ओमोडा ई–फाइभ नेपाली बजारमा प्रवेश गरेदेखि नै भविष्यमुखी डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स, आकर्षक रेन्ज तथा आधुनिक प्रविधिका कारण लोकप्रिय विद्युतीय एसयूभीमध्ये एक बन्न सफल भएको छ । नयाँ ओमोडा ई–फाइभ प्रोले यही पहिचानलाई थप मजबुत बनाउँदै ग्राहकलाई अझ परिष्कृत र प्रविधिमैत्री अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
नयाँ मोडलमा ५०.७ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्याक, ९९ किलोवाट क्षमताको विद्युतीय मोटर तथा २८८ न्युटन–मिटर टर्क उपलब्ध छ । यसले डब्ल्यूएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
१९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विभिन्न भौगोलिक तथा सडक अवस्थाका निम्ति यो उपयुक्त हुने जनाइएको छ ।
ओमोडाको भविष्यमुखी डिजाइन अवधारणाअनुसार तयार गरिएको नयाँ ई–फाइभ प्रोमा आकर्षक अगाडिको भाग, एरोडाइनामिक प्रोफाइल तथा विशेष ‘फ्यान्टम विङ’ टेललाइट समावेश गरिएको छ । १८ इन्चका अलोय ह्विलले यसको बाह्य स्वरूपलाई थप प्रिमियम र स्पोर्टी बनाएको छ ।
भित्री भागमा विद्युतीय सनरुफ, उच्चस्तरीय सामग्री प्रयोग गरिएको केबिन, चालकका निम्ति मसाज सिट, आठ सोनी स्पीकरसहितको अडियो प्रणाली तथा १५.६ इन्चको वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध छ । यी सुविधाले यात्रालाई थप आरामदायी र मनोरञ्जनपूर्ण बनाउने कम्पनीको विश्वास छ ।
सुरक्षाका दृष्टिले पनि नयाँ ओमोडा ई–फाइभ प्रोमा १९ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स प्रणालीका सुविधा समावेश गरिएको छ । साथै, ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणालीले चालकलाई पार्किङ तथा जटिल सडक अवस्थाहरूमा थप सहजता र आत्मविश्वास प्रदान गर्नेछ ।
कम्पनीले ओमोडा ई–फाइभ प्रोको सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तथा डुअल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
सार्वजनिक भएको अवसरमा पहिलो ५० ग्राहकका निम्ति ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा सुविधा उपलब्ध गराइने जनाइएको छ ।
नयाँ ओमोडा ई–फाइभ प्रो देशभर रहेका आधिकारिक ओमोडा एन्ड जेइको शो रुममार्फत बुकिङ तथा थप जानकारीका निम्ति उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
