काठमाडौं । भारतमा रहेका नेपालीलाई लक्षित गर्दै डिजिटल रेमिट्यान्स सेवाको पहुँच विस्तार गर्न पशुपति पे इन्डिया र सम्सारा रेमिटबीच सहकार्य सम्झौता भएको छ । सम्झौताले भारतबाट नेपालमा औपचारिक माध्यममार्फत रकम पठाउने प्रक्रियालाई थप सहज, छिटो र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
सम्झौतापत्रमा पशुपति पेका संस्थापक जयरामन एस अय्यर तथा सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले यो सहकार्यले भारतमा रहेका लाखौँ नेपालीलाई डिजिटल माध्यमबाट नेपालमा रकम पठाउन नयाँ विकल्प उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।
सम्झौताबारे जानकारी दिँदै सम्सारा रेमिटका वरिष्ठ प्रबन्धक राजीव पोखरेलले अब भारतमा रहेका नेपालीहरूले पशुपति पे अनुप्रयोग डाउनलोड गरी भारतको जुनसुकै स्थानबाट नेपालका बैंक खाता तथा डिजिटल वालेटमा सहज रूपमा रकम पठाउन सक्ने बताए । उनका अनुसार, यो सेवा पूर्ण रूपमा डिजिटल हुने भएकाले सेवाग्राहीले छिटो, सुरक्षित र झन्झटरहित अनुभव प्राप्त गर्नेछन् ।
भारतमा करिब ३० देखि ३५ लाख नेपाली रोजगारी तथा विभिन्न पेसामा आबद्ध रहेको अनुमान छ । तर, तीमध्ये केवल १० देखि १५ प्रतिशतले मात्र नियमित रूपमा औपचारिक माध्यमबाट नेपाल पैसा पठाउने गरेको तथ्यांक छ । नयाँ सहकार्यपछि कम शुल्कमा वैधानिक र डिजिटल माध्यममार्फत रेमिट्यान्स पठाउने प्रवृत्ति बढ्ने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सम्सारा रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । कम्पनीसँग रेमिट्यान्स तथा वित्तीय सेवाको क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका व्यवस्थापन टोली रहेको बताइएको छ । सम्सारा रेमिटले नेपालभरका बैंक तथा वित्तीय संस्था तथा प्रमुख डिजिटल वालेटमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।
दुवै संस्थाले यो साझेदारीले भारतमा रहेका नेपालीलाई कम लागतमा छिटो, सुरक्षित र भरपर्दो रूपमा नेपालमा रकम पठाउने सुविधा उपलब्ध गराउनुका साथै वैधानिक रेमिट्यान्स प्रवाह बढाउन र डिजिटल वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
