काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, पारदर्शी र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्यसहित "नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३" सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिअन्तर्गत सार्वजनिक गरिएको यो श्वेतपत्रलाई नेपालको प्राथमिक पूँजी बजार सुधारको पहिलो समग्र दीर्घकालीन मार्गचित्रका रूपमा हेरिएको छ।
विगत केही वर्षयता आईपीओमा अत्यधिक आकर्षण बढे पनि निष्काशन प्रक्रिया, मूल्य निर्धारण, नियामकीय उत्तरदायित्व, प्रविधि, संस्थागत क्षमता तथा लगानीकर्ता संरक्षणका विषयमा उठ्दै आएका प्रश्नहरूलाई सम्बोधन गर्ने उद्देश्यले बोर्डले यो श्वेतपत्र ल्याएको जनाएको छ।
आईपीओ प्रणाली मात्र होइन, समग्र पूँजी निर्माणको योजना
श्वेतपत्रले केवल आईपीओ सुधारमा सीमित नभई निजी क्षेत्रलाई दीर्घकालीन पूँजी उपलब्ध गराउने, राष्ट्रिय पूँजी निर्माणलाई बलियो बनाउने तथा आर्थिक रूपान्तरणमा पूँजी बजारको भूमिका विस्तार गर्ने रणनीतिक दस्तावेजका रूपमा आफूलाई प्रस्तुत गरेको छ।
बोर्डका अनुसार आगामी दशकमा नेपालको प्राथमिक पूँजी बजारलाई पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, दक्ष, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय असल अभ्यासअनुकूल बनाउने लक्ष्य राखिएको छ।
तीन चरणमा लागू हुने सुधार योजना
श्वेतपत्रले प्राथमिक बजार सुधारलाई स्पष्ट समयसीमासहित तीन चरणमा कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ।
पहिलो चरण (एक वर्षभित्र) मा ऐन, नियमावली तथा निर्देशिकामा संशोधन, बुक बिल्डिङ प्रणालीको समीक्षा, निष्काशन प्रक्रियाको सरलीकरण तथा नीतिगत सुधार गरिनेछ।
दोस्रो चरण (एकदेखि दुई वर्ष) मा डिजिटल आईपीओ प्लेटफर्म, e-KYC, RegTech र SupTech जस्ता आधुनिक प्रविधिको प्रयोगमार्फत नियमनलाई थप प्रभावकारी बनाइनेछ।
तेस्रो चरण (दुईदेखि पाँच वर्ष) मा पूर्ण बजार–आधारित मूल्य निर्धारण प्रणाली लागू गर्ने, तथा Anchor Investors को प्रवेश गराउने र प्राथमिक बजारलाई अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउने योजना अघि सारिएको छ।
उत्तरदायित्व थप कडा बनाइने
श्वेतपत्रले निष्काशन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक तथा क्रेडिट रेटिङ संस्थाहरूको Due Diligence दायित्वलाई स्पष्ट गर्दै उनीहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने प्रस्ताव गरेको छ। यसले कमजोर गुणस्तरका कम्पनी सार्वजनिक हुने सम्भावना घटाउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
डिजिटल युगतर्फ प्राथमिक बजार
बोर्डले अबको प्राथमिक बजार पूर्ण रूपमा डिजिटल पूर्वाधारमा आधारित हुने संकेत दिएको छ। डिजिटल आईपीओ प्लेटफर्म, अनलाइन पहिचान प्रमाणीकरण स्वचालित नियामकीय अनुगमन तथा सुपरभाइजरी प्रविधि को प्रयोगले निष्काशन प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी हुने अपेक्षा गरिएको छ।
लगानीकर्ता संरक्षणमा विशेष जोड
श्वेतपत्रले लगानीकर्ताको सहभागिता बढाउने, वित्तीय साक्षरता विस्तार गर्ने तथा प्राथमिक बजारका नयाँ उपकरणहरूको विकासलाई प्राथमिकतामा राखेको छ। विशेषगरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै पूँजी बजारप्रतिको विश्वास बलियो बनाउने लक्ष्य बोर्डले लिएको छ।
आर्थिक रूपान्तरणको आधार बन्ने विश्वास
बोर्डले यो श्वेतपत्रलाई नेपालको पूँजी बजार विकासको रणनीतिक आधार दस्तावेज का रूपमा कार्यान्वयन गर्ने जनाएको छ। आगामी दिनमा सरोकारवाला निकाय, निजी क्षेत्र, लगानीकर्ता तथा विज्ञहरूसँग निरन्तर परामर्श गर्दै प्रस्तावित सुधारहरूलाई चरणबद्ध रूपमा नीतिगत, कानुनी, प्रक्रियागत तथा प्रविधिगत सुधारमार्फत कार्यान्वयन गरिने बोर्डको भनाइ छ।
विशेषज्ञहरूका अनुसार श्वेतपत्रमा प्रस्ताव गरिएका सुधारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सके नेपालको प्राथमिक पूँजी बजार केवल आईपीओ वितरणको माध्यममा सीमित नरही उद्योग–व्यवसायको दीर्घकालीन वित्तीय स्रोत, लगानीकर्ताको विश्वास र राष्ट्रिय आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित हुन सक्छ।
