पोखरा / नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको थ्री–एस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको हो।
सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्।
कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टरले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रमा रहेका बीवाईडी ग्राहकलाई आधिकारिक, सहज र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ।
यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत सेवा लिँदै आएका थिए।
अब आधिकारिक सर्भिस सेन्टरबाट ग्राहकले अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्न सक्नेछन्।
करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे लगायतका सुविधा छन्।
सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।
यहाँ नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध हुनेछन्। साथै, डेडिकेटेड सर्भिस एडभाइजर तथा सीआरएम टोलीमार्फत ग्राहक सेवा पनि प्रदान गरिनेछ।
साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले सवारी बिक्रीसँगै ग्राहकप्रतिको कम्पनीको जिम्मेवारी सुरु हुने भन्दै स्वामित्व अवधिभर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनुले बीवाईडीको बिक्रीपछिको सेवा सञ्जाललाई थप विस्तार गरेको कम्पनीको भनाइ छ।
आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताका विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी भइरहेका बेला सेवा सञ्जाल विस्तारलाई कम्पनीले नेपाली बजारप्रतिको दीर्घकालीन प्रतिबद्धताको रूपमा प्रस्तुत गरेको छ।
