Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नाइमा मोबिलिटी एक्स्पोमा पहिलो दिनमै २९ हजार दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पोमा पहिलो दिनमै २९ हजार दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

अर्थ प्लस
नाइमा मोबिलिटी एक्स्पोमा पहिलो दिनमै २९ हजार दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

काठमाडौँ / नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ भव्य रूपमा उद्घाटन भएको छ । मंगलबार नेपाल प्रहरी क्लबस्थित प्रदर्शनी हलमा विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको बिक्री तथा प्रदर्शनीमा मात्र सीमित नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको बताइन् । उनले पटक–पटक परिवर्तन हुने नीतिगत व्यवस्थाका कारण व्यवसायीमा अनिश्चितता बढेको भन्दै निजी क्षेत्रसँग छलफल गरेर मात्रै नीति परिवर्तन गर्न सरकारलाई आग्रह गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई राजस्व संकलनको स्रोतका रूपमा मात्र हेर्न नहुने बताए । उनले नेपालमा अटोमोबाइल क्षेत्रमा उच्च भन्सार दर रहेको उल्लेख गर्दै विद्युतीय सवारीसहित समग्र अटोमोबाइल क्षेत्रका लागि स्थिर नीति आवश्यक रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो राजस्व योगदान गर्ने क्षेत्र भएकाले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्र यातायातमा मात्र सीमित नभई आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको बताए । उनले मोबिलिटी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत योगदान गर्ने दाबी गरे ।

पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । एक्स्पो अवलोकन गर्न मंगलबार मात्रै २९ हजारभन्दा बढी दर्शक पुगेका छन् । आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ ।

एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing–Fuel for Economic Growth’ विषयमा प्यानल छलफलसमेत भएको थियो । पूर्वबैंकर अनिलकेशरी शाहको सहजीकरणमा भएको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए । पहिलो दिनको लर्निङ सेसनमा मात्रै तीन सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डसहित नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन् । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारी खरिदका लागि विभिन्न विशेष अफर तथा सहुलियत कर्जा पनि उपलब्ध गराएका छन् ।

एक्स्पो अवधिभर Learning Sessions, Policy Dialogues and Industry Interactions लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । साथै, सडक दुर्घटनापछिको प्राथमिक उपचारसम्बन्धी ‘Basic Life Support and Immediate Care After Road Traffic Accidents’ विषयमा ग्रान्डी इन्टरनेसनल हस्पिटलले विशेष प्रस्तुति दिएको छ ।

सम्बन्धित समाचार