काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो महिना साउनमै नेपालले १ खर्ब ४८ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । आयातको तुलनामा निर्यात निकै कम हुँदा साउन महिनामै नेपालको व्यापार घाटा १ खर्ब ४८ अर्ब रुपैयाँ नाघेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात ३१ दशमलव शून्य चार प्रतिशतले वृद्धि भएको हो ।
गत आवको साउनमा एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान नेपाल भित्रिएको थियो । यस वर्ष साउनमा आयातको आकार उल्लेख्य बढेसँगै नेपालको व्यापार असन्तुलन थप फराकिलो बनेको हो ।
यता निर्याततर्फ भने नेपालले साउनमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा पठाएको छ । गत साउनको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ ।
गत आवको साउनमा भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ ।
आयातमा भएको तीव्र वृद्धिका कारण निर्यातमा उल्लेख्य सुधार देखिए पनि दुईबीचको ठुलो अन्तरका कारण एक महिनामै मुलुकको व्यापार घाटा १ खर्ब ४८ अर्ब रुपैयाँभन्दा माथि पुगेको हो । चालु आर्थिक वर्षको सुरुवातमै व्यापार घाटाको आकार ठूलो देखिएपछि नेपालको वैदेशिक व्यापारमा रहेको असन्तुलन पुनः स्पष्ट भएको छ ।
