काठमाडौँ, जेठ ११ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संसद चहिलरहेकोले संसदबाटै आउने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् चलिरहेकाले बजेट अध्यादेशबाट नआउने बताए । उनले भने, ‘बजेट आगामी जेठ १५ गते संसदबाटै आउँछ, संसद् चलिरहेकोले अध्यादेशबाट आउँदैन।’
प्रतिनिधिसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधपछि १० मिनेट बसेर स्थगित भएको छ। सभामुखले बैठक शुरु भएको घोषणा गरेलगत्तै नेपाली कांग्रेससहित प्रतिपक्षी दलका सांसदहरूले विरोध गरेका थिए ।
सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विरोध कायमै रहेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेकोमा योसमेत स्थगित भएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको विषयमा दलहरूबीच सहमति नजुट्दा लामो समयदेखि संसद् बैठक अवरोध हुँदै आएको छ। प्रतिनिधिसभाको अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ।
