काठमाडौं, जेठ १७ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट यथार्थपरक र संयमित हिसाबले आएको बताएको छ ।
निजी क्षेत्रका तीनवटै प्रमुख संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले बजेट सकारात्मक सोचसहित आएको र यसको कार्यान्वयनतर्फ प्रभावकारी कदम चाल्न आवश्यक रहेकोतर्फ जोड दिएका हुन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले बजेट आर्थिक शिथिलतालाई अन्त्य गर्नेतर्फ अगाडि बढेको बताए ।
उनीहरुले बजेटमार्फत् सरकारले निजी क्षेत्रलाई विश्वास गरेकोभन्दै धन्यवादसमेत दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संकुचनलाई हटाउन सबै सरोकारवाला मिलेर लाग्नुपर्ने बताए। बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताउँदै उनले अब कार्यान्वयनमा पनि यसलाई समेट्नुपर्ने बताए।
बजेटमा ससाना छरिएर रहेका पूँजीलाई लगानीमा परिणत गर्नेजस्ता कार्यक्रम निजी क्षेत्रको सुझावअनुसार नै प्राथमिकताका साथ आएको अध्यक्ष ढकालको भनाइ छ।
बजेटले निजी क्षेत्रको माग समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको र अब कार्यान्वयनमा पनि यसलाई समेट्नुपर्ने उनले बताए ।साथै उनले अर्थतन्त्रको संकुचन हटाउन सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने पनि बताए ।
‘बजेटले दिएको मार्गनिर्देशलाई हुबहु कार्यान्वयन गर्ने दिशातर्फ अगाडि बढ्न सक्नुपर्छ, यसो भए अर्थतन्त्र लयमा फर्किन समय लाग्दैन,’ उनले भने ।
त्यस्तै, नेपाल उद्योग परिसंघ अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलित आएको बताए । बजेटले नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढाउने घोषणा गर्नु निकै सकारात्मक भएको उनको भनाइ छ ।
साथै उनले निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु राम्रो पक्ष भएको पनि बताए । कृषि, पर्यटन, सूचना प्रविधि लगायतलाई रूपान्तरणकारी परियोजनाका रूपमा अगाडि बढाएको भन्दै त्यसको सफल कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।
विभिन्न नियमावलीमा समयानुकूल परिमार्जन गरिने बजेटले प्रतिबद्धता जनाएको भन्दै उनले बौद्धिक सम्पत्तिमाथि र उधारो असुली कानून ल्याउन परिसंघले जोड दिँदै आएकोमा बजेटले सम्बोधन गरेका पनि बताए ।यद्यपि, बजेटमा घोषणा भएका कार्यक्रम बजेटमै सीमित हुन नहुने उनको तर्क छ ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी बजेट यथार्थपरक र संयमित भएको बताए । उनले कृषि, पर्यटन लगायतमा बजेटले राम्रा कार्यक्रम ल्याउनु सकारात्मक पक्ष भएको बताए ।
उनका अनुसार अर्थतन्त्र चलायमान बनाउन बजेट कार्यान्वयन चुनौतीपूर्ण भने छ ।आन्तरिक राजस्वमा भने समस्या भएको उनले बताए । एकातर्फ स्रोत बढाउने लक्ष्य लिने, तर आर्थिक शिथिलता लम्बिँदै जाँदा तालमेल नमिल्ने उनले बताए ।
अध्यक्ष अग्रवालले आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलता अभावको जोखिम पनि र निजी क्षेत्रको स्रोत संकुचित हुने अवस्था आउन सक्ने बताए ।
