काठमाडौं, जेठ १७ । नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो। तर पछिल्ला केहि घटनाक्रमले सरकार विशेषगरि अर्थमन्त्रालय र राष्ट्र बैंक बीचको सम्बन्ध त्यति सन्तोषजनक हुन सकेको थिएन।
जसले गर्दा राष्ट्र बैंक सरकारको सल्लाहकारभन्दा प्रमुख प्रतिपक्ष जस्तै देखिएको थियो। यसअघिका सार्वजनिक फोरममा पनि पूर्वअर्थमन्त्रीहरुका भनाइलाई आधार मान्ने हो भने पनि राष्ट्र बैंकसँगको सम्बन्ध आर्थिक सल्लाहकारभन्दा अरुनै भएको देखिन्थ्यो ।
तर नेपाली कांग्रेसको साथ छाडेर नेकपा (एमाले) को साथमा सत्ता सम्हालेयता नेकपा माओवादीबाट बर्षमान पुन अर्थमन्त्री बनेयता परिस्तिथि सुध्रिएको देखिन्छ। जुन कुरा बुधबार अर्थमन्त्रालयले आगामी बजेटबारे गरेको अन्तरक्रियामा देखिएको छ।
बजेटबारे अर्थमन्त्री, अर्थसचिव र राजस्व सचिवलाई प्रश्न सोधिएपनि अर्थमन्त्री पुनको दायाँतर्फको कुर्सीमा बसेका गभर्नर महाप्रसाद अधिकारीले अतिरिक्त समय लिएर आन्तरिक ऋणका कारण कर्जा प्रवाहमा दबाब नपर्नेबारे स्पष्ट पारेका थिए।
राजस्व अनुमान पनि सिलिङ्ग भित्र रहेर गरिएको तथा आन्तरिक ऋणको स्रोत पनि सल्लाह सुझावमा नै तय भएकाले यसले आन्तरिक कर्जा प्रवाहमा कुनै किसिमको फरक नपार्ने बताउँदै गभर्नर अधिकारीले बजेटमा आफ्नो पूर्ण समर्थन रहेको भन्न भ्याए ।
गभर्नरको यस प्रकारको अभिव्यक्ति तथा अर्थमन्त्री पुनसँगको सौहार्दतालाई धेरैले सम्बन्धमा नयाँ आयाम थपिएको र यो आयामले अर्थतन्त्रलाई नयाँ र उत्साहपूर्ण ठाउँमा पुर्याउला कि भन्ने अपेक्षा गरेका छन् ।
अर्थमन्त्रीसँगको यो सौहार्दपूर्ण माहोलले नेपाल राष्ट्र बैंकले आगामी दिनमा ६ प्रतिशतको आर्थिक लक्ष्य भेट्टाउनेगरि खुकुलो मौद्रिक नीति ल्याउने र यसले सिंगो अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा धेरैले गरेका छन् ।
