काठमाडौँ, जेठ २१ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ मौद्रिक नीति खुला र लचिलो ल्याउने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले चालू आर्थिक वर्षको दोस्रो र तेस्रो समीक्षामा पनि लचिलो मौद्रिक नीति नै अपनाएको बताए । उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने जानकारी दिए । मौद्रिक नीतिका विषयमा छलफल शुरु गरेको भन्दै उनले कर्जा र ब्याजदर नै धेरैको चासोको विषय रहेको पनि बताए ।
गभर्नर अधिकारीले विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिरहेको बताए । नेपालको लगानी, पूँजीगत खर्च उत्पादनशिल नभएको भन्दै उनले लगानी उत्पादनशिल बनाउनको लागि राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको बताए ।
उनले कर्जाको लगानी उत्पादनमुलक क्षेत्रमा लगाउन पनि निजी क्षेत्रलाई आग्रह गरेका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा पनि धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको जानकारी दिए । बजेटमा इमान्दारिताका साथ निजी क्षेत्रलाई कसरी सँगसँगै लैजान सकिन्छ भन्ने कुरालाई मूख्य जोड दिइएको उनले बताए । कृषि क्षेत्रलाई चलायमान बनाउन र यसको वृद्धिका लागि बजेटमा विशेष ध्यान दिएको उनको भनाइ थियो ।
‘अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट इमान्दारीपूर्वक ल्याउनुभएको छ । सूचना प्रविधिमा सूचना केन्द्र, हब बनाउने विषय छन् । गत एक वर्षमा मात्रै ७० अर्ब प्रविधि निर्यात भएको कुरालाई आगामी दिनमा क्यास गर्न सकिन्छ कि भन्ने सोचबाट बजेटमा छ’, उनले भने ।
उनले बजेटमा लिएका लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा आफू ढुक्क रहेको बताए ।
