काठमाडौँ, असार १८ । मुलुकमा उद्योग सञ्चालन हुने क्रम बढेको छ । उद्योग विभागका अनुसार साना तथा मझौला उद्योग दर्ता हुने क्रम बढेको हो ।
विभागका अनुसार चालू आर्थिक वर्ष २०८०/ ०८१ को साउनदेखि जेठ महिनासम्ममा ३८५ वटा उद्योग दर्ता भई २ खर्ब १७ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ । दर्ता भएका उक्त उद्योगहरु सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान छ ।
उद्योग विभागको विवरण अनुसार चालू आवको उक्त अवधिसम्ममा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालू आवमा २०० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा २८४ वटा उद्योग दर्ता भएका छन् ।
यस्तै पाँच वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् । यस्तै ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा उक्त अवधिमै ५० वटा दर्ता भएका छन् ।
यस्तै ११ महिनामा ३५९ परियोजनामार्फत ४४ अर्ब ३४ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।प्रस्तावित विदेशी लगानीबाट सञ्चालित परियोजनाबाट १७ हजार ६४२ जनाले रोजगारी पाउने अनुमान छ ।
चालू आवको ११ महिनामा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रतर्फ ११४, पर्यटन मूलक उद्योगतर्फ१७६, उत्पादनमूलक क्षेत्रतर्फ ४०, सूचना प्रविधिमूलक क्षेत्रतर्फा १०, पूर्वाधारमूलक उद्योगतर्फ ७ , कृषिजन्य उद्योगतर्फ ८, खनिजजन्यतर्फ ३ र ऊर्जातर्फ एक ओटा आएको छ ।
