काठमाडौँ, असार २२ । युवालाई उत्पादन र उद्यमसँग जोड्न मौद्रिक नीतिमा विशेष कार्यक्रम ल्याइने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याइने उनको भनाइ थियो ।
सानाकिसानविकास लघुवित्त वित्तीय संस्थाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गर्भनर अधिकारीले युवालाई उत्पादन र उद्यमसंग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन हुने क्रम रोकिने बताए ।
‘देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएको छ, त्यो सत्य होइन । देश सम्भावनाले भरिपूर्ण भएपनि केही साना–साना कुराहरुमा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएका हुन,’ उनले भने, ‘राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पनि युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने हो ।’
गभर्नर अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको भन्ने विषयमा सत्यता नरहेको बताए । कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा बाहिर आलोचना भए जस्तो दुरुपयोग नदेखिएको र केही व्यक्तिबाट दुरुपयोग भएकोमा त्यसलाई असुल प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए ।
सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान वितरण गरिएको गभर्नर अधिकारीको दाबी गरे । हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा सानाकिसान रहेको उनको भनाइ छ । उद्यमशीलता विकास एवम् रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।
पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थालेपनि सानाकिसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको भनाइ छ । ‘विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको छ,’ उनले भने ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको बताए । ‘कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि टठा बाठा हरुले पहुँचको आधारमा दुरुपयोग भएको छ,’ उनले भने, ‘यसकारण सहुलियत कर्जा लक्षित वर्गमा पुग्न सकेको छैन ।’
सरल कर्जा प्रवाहमार्फत युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको साना किसानविकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले बताए ।
सानाकिसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशतभन्दा बढी महिला रहेको र देशभरका पाँच सय ५० स्थानीयतहमा सानाकिसान लघुवित्तको सेवापुगिसकेको उनले जानकारी दिए ।
