काठमाडौं, साउन १६ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले अपरान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै गएको छ भने कर्जा लगानी हुन नसक्दा पूँजी जम्मा भइरहेको छ ।
केन्द्रीय बैंकका अनुसार साउन १३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६४ खर्ब ३४ अर्ब रुपैयाँ छ भने यता कर्जा लगानी ५१ खर्ब ४० अर्ब रुपैयाँ बराबर मात्र छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा ७ खर्बमाथि तरलता छ । यसले गर्दा पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपोमार्फत् निरन्तर तरलता प्रशोचन गरिरहेको छ । बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ ।
