काठमाडौं, कात्तिक २३ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता खिच्नको लागि एक खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दा बैंकहरुले २ खर्ब बढीको आवेदन दिएका छन्।
केन्द्रीय बैंकले बुधबार जारी गरेको निक्षेप संकलन उपकरणमा २५ वटा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७ अर्ब १० करोड रुपैयाँको आवेदन दिएका हुन्।
बैंकहरुले ब्याजदर समेत घटाएका छन्। यसअघि २.९९ प्रतिशत कायम भएको भारित औसत ब्याजदर बुधबार भने घटेर २.८६ प्रतिशतमा झरेको छ। बैंकहरुले न्युनतम २.७२ प्रतिशतदेखि अधिकतम २.९५ प्रतिशतसम्म ब्याजदर पेश गरेका थिए।
पछिल्लो समय ब्याजदर भने निरन्तर घट्दै गएको छ। निक्षेप संकलन उपकरण मात्र होइन सरकारले आन्तरिक ऋण उठाउन प्रयाेग गर्ने ट्रजरी विल्सको दर समेत घटेर ३ प्रतिशतभन्दा पनि तल झरिसकेको अवस्था छ।
