काठमाडौं, मंसिर २३ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा ३ अर्ब ५४ करोड ६७ लाख राजश्व संकलन गरेको छ।
महानगरपालिकाले साउनदेखि मंसिर २० गतेसम्म विभिन्न स्रोतहरूबाट यो राजश्व संकलन गरेको हो। यो रकम गत वर्षको सोही अवधिको तुलनामा २७.४८ प्रतिशत कम रहेको छ। गत वर्ष ३ अर्ब ७२ करोड ४९ लाख राजश्व संकलन भएको थियो।
महानगरपालिकाले चालु आर्थिक वर्षको लागि १२ अर्ब ९० करोड ६३ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको छ।
महानगरले २ अर्ब २८ करोड ८५ लाख राजश्व आन्तरिक आयतर्फ संकलन गरेको छ, जुन चालु आवको लक्ष्यको २८.४८ प्रतिशत हो। गत वर्षको सोही अवधिमा २ अर्ब १४ करोड १६ लाख राजश्व आन्तरिक आयबाट उठाइएको थियो।
आन्तरिक अनुदानबाट ७१ करोड ५७ लाख राजश्व संकलन भएको छ। यस शीर्षकमा महानगरपालिकाले २ अर्ब ३६ करोड ७८ लाख राजश्व उठाउने लक्ष्य राखेको छ।
त्यसैगरी, राजश्व बाँडफाँडबाट ५४ करोड २४ लाख राजश्व प्राप्त भएको छ, जुन लक्ष्यको २१.६७ प्रतिशत हो। गत वर्षको सोही अवधिमा २८ करोड ८९ लाख राजश्व संकलन भएको थियो।
