काठमाडाैं, माघ १० । नेपाल बैकर्स संघका उपाध्यक्ष सुरेन्द्र रेग्मीले बैंकहरूको खराब कर्जा आत्तिनुपर्ने अवस्थामा नरहेको बताएका छन् । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै उनले औषतमा एनपीएलको अनुपात ४.४९ प्रतिशतमा रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको बताएका हुन्।
उनले बैंकहरूको खराब कर्जा ४ प्रतिशत माथि भए पनि खुद खराब कर्जा ३ प्रतिशतभन्दा कम भएकोले आत्तिन पर्ने अवस्था नरहेको पनि बताए । बैंकहरूबाट कर्जा लगानी बढ्न नसकिरहँदा पुस एक महिनामा मात्रै ९४ अर्ब रूपैयाँले कर्जा बढेको छ। तर, माघ पहिलो साता आइपुग्दा नै यस्तो रकम २० अर्बले घटेको छ ।
ब्याज रिकभर गर्ने चेकिङ एकाउन्टको रकम रिभल्भिङ लाइन अफ क्रेडिटको रूपमा राख्न सकिने व्यवस्थाले गर्दा पनि अन्तिम समयमा यस्तो कर्जा बढ्ने गरेको रेग्मीको भनाई छ।
कर्जा असुलीका लागि स्थानीय तहले आवश्यक समन्वयन नगर्दा र लिलामी प्रकृयामा समेत समस्या देखिँदा बैंकहरूको गैरबैकिङ सम्पत्ति व्यवस्थापनमा चुनौति भोग्नुपरेको बताए ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका रेग्मीले अहिलेको अर्थतन्त्रको आवस्था हेरी राष्ट्र बैंकले पुँजी कोष व्यवस्थामा लचिलो नीति लिनुपर्ने बताए।
‘अन्तर्राष्ट्रिय बैंकहरूको भन्दहामीले २ देखि ३ प्रतिशत बढी पुँजी कोष अनुपात राखिरहेका छौं । अहिलेको जटिल अवस्थामा राष्ट्र बैंक लचिलो हुनुपर्छ।’
