काठमाडाैं, माघ १० । २ गिगावाटभन्दा बढी सौर्य क्षमता प्रदान गर्ने कीर्तिमान बनाएको भारतको सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी प्रोजिल ग्रिन इनर्जी नेपाल भित्रिएको छ ।
नेपालमा गोल्यान पावर कम्पनीसँगको सहकार्यमा प्रोजिलले आफ्नो उत्पादन भित्र्याएको हो । प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावर लिमिटेडबीच सहकार्यबारे जानकारी दिन ‘प्रोजिल ग्रिन इनर्जी नेपाल’ नामक कार्यक्रम बुधबार काठमाडौंमा आयोजना भएको छ ।
कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा व्यवसायीहरूको संगठन इप्पानका अध्यक्ष गणेश कार्की र सोपानका अध्यक्ष डा. सन्दीप शाह लगायतका प्रमुख वक्ताहरूले नवीकरणीय ऊर्जा क्षेत्रमा नीति सुधार र सहकार्यको महत्त्व बारे चर्चा गरे।
कार्यक्रममा प्रोजिल ग्रिन इनर्जी नेपालका निर्देशक प्रविण अर्यालले नेपाललाई सस्तो, भरपर्दो र स्वच्छ विद्युत् उपलब्ध गराउने उद्देश्यको महत्त्वपूर्ण कदमको रूपमा यो सहकार्यलाई प्रस्तुत गरे। उनले भने, “नेपालको ऊर्जा रुपान्तरणका लागि यो साझेदारी कोशेढुंगा बन्न सक्छ।”
सहकार्य अन्तर्गत, प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी दुई वर्षमा ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजना स्थापना गर्ने लक्ष्य राखेको छ। यस परियोजनाबाट नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा क्रांतिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
गोल्यान पावरका निर्देशक अक्षय गोल्यानले सूर्यको ऊर्जा भविष्य उज्जवल रहेको बताउँदै सौर्य ऊर्जा क्षेत्रमा थप लगानी र विकासको आवश्यकता औँल्याए। उनले नेपालका विभिन्न क्षेत्रहरू, विशेष गरी मुस्ताङ जस्ता स्थानहरूमा सौर्य ऊर्जा उत्पादनको अपार सम्भावना रहेको बताए।
सहकार्यका अनुसार, प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावरले रुफटप सोलार र जमिनमा आधारित फोटोभोल्टेइक सौर्य प्लान्टहरूको विकासमा जोड दिने छन्। यस साझेदारीले नेपालमा नवीकरणीय ऊर्जा र दिगोपनको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी दुई वर्षमा नेपालका विभिन्न स्थानमा ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजना स्थापना गर्ने लक्ष्य राखेको कार्यक्रममा जानकारी दिइयो ।
देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी युगको एक महत्त्वपूर्ण कदम हुने कम्पनीको भनाइ छ ।
कार्यक्रममा प्रोजिल ग्रिन इनर्जी अध्यक्ष शोभित बैजनाथ रायले गोल्याना पावरसँग मिलेर ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजना निर्माण गरी नेपालको नवीकरणीय ऊर्जा यात्रामा ऐतिहासिक कोशेढुंगा हासिल गर्न अघि बढिरहेको बताए ।
