२०८१,फागुन १४ गते
काठमाडौं । जगदम्बा मोटर्सले ५ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ बैंक कर्जाको लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स नेपाल रेटिङ एजेन्सीबाट रेटिङ गराउँदा कम्पनीले दीर्घकालिन बैंक सुविधाका लागि आईआरएन बीबीबी प्लस र अल्पकालीन बैंक सुविधाका लागि आईआरएन एटु रेटिङ पाएको छ ।कम्पनीले दीर्घकालिन रुपमा १ अर्ब ४८ करोड र अल्पकालीन रुपमा ४ अर्ब ४८ करोड ५० लाख रुपैयाँ कर्जाको रेटिङ गराएको हो ।
कम्पनीले पछिल्लो वर्ष कुल सञ्चालन आम्दानी बढाएको छ । २०२३ मा कुल सञ्चालन आम्दानी भारी रुपमा गिरावट आएको कम्पनीको २०२४ मा भने वृद्धि भएको देखिन्छ । २०२३ को तुलनामा २०२४ मा १२.४४ प्रतिशतले आम्दानी वृद्धि भएको छ । यसरी आम्दानी वृद्धि हुनुको कारण कुल ऋणमा कमी आउनु र ब्याज खर्च घट्नु रहेको रेटिङ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०२३ मा कम्पनीको आम्दानी ७ अर्ब ८४ करोड थियो भने २०२४ मा ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । २०२२ को तुलनामा २०२३ मा कम्पनीको आम्दानी ४२.३८ प्रतिशतले खुम्चिएको थियो । कम्पनीले २०२२ मा १३ अर्ब ६१ करोड रुपैयाँ आम्दानी कमाएको थियो ।
कम्पनीले अत्यधिक प्रतिस्पर्धी अटोमोबाइल्स बिक्री वितरण गर्दै आएको रेटिङमा जनाइएको छ । यस कम्पनीले होण्डा, बजाज, हिरो, यामाहा यस कम्पनीले बिक्री गर्ने अटोमोबाइलका प्रतिस्पर्धी हुन् । कम्पनीले टीभीएस ब्राण्डका मोटरसाइकल र प्रोटोन ब्राण्डका गाडीहरु नेपालमा आयात गरेर बिक्री वितरण गर्दै आएको छ ।
जगदम्बा मोटर्स शंकर ग्रुप अन्तर्गतको कम्पनी हो । जसको स्थापना २०१० मा एसजी ग्लोबल नामबाट भएको थियो । २०१५ मा यसको नाम जगदम्बा मोटर्स प्रालिमा परिणत भयो । कम्पनीले २०१५ देखि टीभीएस र २०२० देखि प्रोटनको ब्राण्डका उत्पादनहरू बिक्री गर्दै आएको छ । कम्पनीको व्यवस्थापक शाहिल अग्रवाल हुन् ।
