काठमाडौं । दिपक थापा आईजीपी बनेकै रात चमत्कारिक अप्रेशन गराउन सफल भएका छन् । गएराति काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको एक ट्रक पैसा प्रहरीले पक्राउ गरेको छ ।
गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना ७ ख १६५२ नम्वरको ट्रकमा ठूलो मात्रामा नोट भएको भन्ने सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा विशेष टोली राति नै परिचालित भयो ।
सो टोलीले काठमाडौंबाट केरुङतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्वरको ट्रकलाई नियन्त्रणमा लियो । उक्त ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अमेरिकी डलर, नेपाली रुपैयाँ युरो समेत गरी करिब २५ करोड रुपैयाँको नोट रहेको फेला परेको छ ।
प्रहरीले ट्रकका चालक कुनसाङ लामालाई नियन्त्रणमा लिएको छ । साथै अर्का एक जनालाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । काठमाडौंबाट रसुवाको केरुङतर्फ जाँदै गरेको ट्रकबाट सो रकम नियन्त्रणमा लिइएकोले सो रकम चीनतर्फ लैजादै गरेको हुनसक्ने अनुमान गरिएको छ ।
हालसम्म प्रहरीले केही बताएको छैन । केहीबेरमा पत्रकार सम्म्मेलन गरी तथ्य सार्वजनिक गर्ने जनाएको छ ।
