काठमाडौं, वैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा छलफल भएको छ।
बिहान ११ बजे सुरू भएर करिब ४५ मिनेट भएको भेटमा गभर्नर नियुक्ति र शिक्षक आन्दोलनको विषयमा मुख्यतः छलफल भएको थियो। ओलीसँगको अधिकांश भेटघाटमा कोही न कोही नेता साथै लिएर जाने देउवा मंगलबार एक्लै बालुवाटार पुगेका थिए।
नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ओलीले नीलम ढुंगानालाई अगाडि सारिरहेका बेला देउवाले त्यसमा विमति जनाएका थिए। उनले आफूले दिने नामबाट नियुक्ति गर्नुपर्ने बताएका थिए।
नीलम हाल डेपुटी गभर्नरका हैसियतमा कायममुकायम गभर्नरका रूपमा काम गरिरहेकी छिन्। यसपटक महिलालाई राष्ट्र बैंकको नेतृत्व दिनुपर्छ भन्ने ओलीको प्रस्ताव थियो।
नीलमलाई अघि बढाउन खोजेको कुरा पुष्टि गर्दै देउवानिकट स्रोतले भन्यो, ‘उहाँ (ओली)को कुरा पहिलादेखि नै त्यही छ, त्यो स्वाभाविक पनि हो। तर, कांग्रेसले त्यो कुरा मान्दैन। गभर्नर कांग्रेसकै प्रस्तावअनुसार नियुक्त हुन्छ। कुरा मिल्दै छ।’
केहीबेरको छलफलपछि देउवाको प्रस्तावमा ओली लचक भएको स्रोतले बताएको छ। कांग्रेस नेतृत्वले गुणाकर भट्ट, राजेन्द्रकुमार क्षत्री, ज्ञानेन्द्र ढुंगाना र रवीन्द्र पाण्डेमध्ये एक जनालाई अघि सार्ने गरी कुरा भइरहेको देउवानिकट नेताहरूको भनाइ छ।
