काठमाडौ, वैशाख १८ । भारतले बढ्दो आन्तरिक मागका कारण केही समय घटाएको विद्युत् आपूर्ति पुनः विस्तार गर्दै नेपाललाई दिनको १५ घण्टासम्म ६०० मेगावाट विद्युत् आयात गर्न स्वीकृति दिएको छ ।
यसअघि सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्रै आपूर्ति भइरहेकोमा अब बिहान २ बजेदेखि साँझ ५ बजेसम्मको अवधि तय गरिएको छ ।
भारतले आगामी दुई महिनाका लागि पुरानै स्वीकृतिअनुसार ६०० मेगावाटसम्म निर्यात गर्न सहमति जनाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले हाल भारतबाट राति पनि ४०० मेगावाटसम्म आपूर्ति सुरु भएको जानकारी दिँदै दिनको समयमा विद्युत् ल्याउन समस्या नभएको बताए ।
भारतले केही समयअघि नेपाललाई दिने ६०० मेगावाट बिजुली कटौती गरी ५० मेगावाटमा सीमित गरेपछि उद्योग क्षेत्रमा १३ घण्टासम्म लोडसेडिङ हुन थालेको थियो । चौतर्फी आलोचना भएपछि प्राधिकरणले आइपीएल (इन्डियन प्रिमियर लिग) को कारण माग बढेको र त्यसैले विद्युत् आयातमा समस्या आएको स्पष्टीकरण दिएको थियो ।
प्राधिकरणका अनुसार हाल नेपालमा आन्तरिक उत्पादन (जलाशय, नदी प्रवाही र सौर्य संयन्त्रसमेत) औसत १ हजार १७५ मेगावाट छ । तर, उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट रहेको छ भने अधिकतम आन्तरिक उत्पादन १ हजार ५९३ मेगावाट मात्र पुग्ने भएकाले बाँकी माग भारतबाट आयात गरेर धान्नुपरेको छ।
भारतबाट विद्युत् आयात मुख्यतः ४०० केभी ढल्केबर–मुजफ्फरपुर लाइन र १३२ केभी टनकपुर–महेन्द्रनगर तथा मैनैया–सम्पतिया लाइनमार्फत भइरहेको छ । पछिल्लो स्वीकृतिसँगै अब दैनिक १५ घण्टासम्म ६०० मेगावाट बिजुली नियमित रूपमा ल्याउने सुविधा नेपालले पाउने भएको छ ।
