काठमाडौँ, वैशाख २० । नेपाल राष्ट्र बैंकले सम्भवत: सोमवारसम्म १८औं गभर्नर पाउँदैछ। गभर्नर नियुक्ति गर्न बनेको सिफारिस समितिका विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ। गभर्नर नियुक्ति गर्न बनाइएको सिफारिस समिति निरीह देखिएपछि उनले राजीनामा दिएका थिए । गभर्नर नियुक्ति समितिले पूर्णता पाएको र सातारुढ दलबीच सहमति समेत भईसकेकाले अब नयाँ गभर्नर नियक्ति प्रक्रिया लम्बिने छैन।
सत्ताका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरमा राष्ट्र बैंकका प्रमुख कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई बनाउने सहमति भएपछि उनले पदबाट राजीनामा दिएका थिए। तर कामु गभर्नर निलम ढुंगानाले अनावश्यक किचलो खडा गर्दै भट्टको राजीनामा समेत स्वीकृत गरेकी छैनन्। ढुंगानाले भट्ट र श्रेष्ठको राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले गत आइतबार नै राजिनामा स्वीकृत गरी नियुक्ति प्रक्रियामा सहजिकरण गर्न निर्देशन दिएका थिए। त्यसो त राष्ट्र बैंक ऐनमा भट्टले दिएको राजिनामा स्वीकृत हुनैपर्ने व्यवस्था भने छैन।
यता डा. भट्ट गभर्नर बन्ने चर्चापछि उनको नियुक्ति रोक्न मागगर्दै दायर पूरक निवेदन समेत सर्वोच्च अदालतले अस्वीकार गरिसकेको छ। बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र वालकृष्ण ढकालका इजलासले उक्त पूरक निवेदन अस्वीकार गरेपछि भट्टलाई गभर्नर बन्न अदलतले पनि रोकेको छैन ।
ढुंगानाले गभर्नरका अर्का प्रत्याशी राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठको समेत राजीनामा स्वीकृत गरेकी छैनन्। तर, श्रेष्ठ आफ्नो कार्यकाल सकेर १० गते देखि नै अनिवार्य विदामा बसिसकेका छन् ।
अर्थमन्त्री पौडेलको निर्देशन समेत अटेर गरेर राष्ट्र बैंकमा रडाको मच्चाउन थालेपछि सरकारले ढुंगानालाई दिईएको कामु गभर्नरको जिम्मेवारीबाट हटाएर डेपुटी गभर्नर बमबहादुर मिश्रलाई जिम्मेवारी दिने तयारी भईरहेको अर्थमन्त्राले स्रोतले जनाएको छ। भट्टलाई गभर्नर बनाए आफू डेपुटी गभर्नरमा नबस्ने र उपयुक्त जिम्मेवारी पाउनु पर्ने दावी गर्दै ढुंगानाले सरकारसँग बार्गेनिङ गरिरहेकी छन्, स्रोतले भन्यो। स्रोतका अनुसार ढुंगानाले राष्ट्र बैंकमा किचलो गर्न छोडेर भट्टको राजिनामा स्वीकृत गरेवापत राजदूत, योजना आयोगको सदस्य या अन्य कुनै संवैधानिक नियुक्तिको लागि बार्गेनिङ गरेकी छन् ।
प्रधानमन्त्री ओली महिला भएकै कारण सहानुभूति देखाउनकै लागि भएपनि निलमई गभर्नर बनाउन चाहन्थे । तर डा. भट्टको नाम अगाडि सारिएपछि दुई दलबीच उनैलाई गभर्नर बनाउने सहमति जुटेको छ ।
अर्थमन्त्रालका एक उच्च अधिकारी भन्छन्,- ‘गभर्नर नियुक्ति प्रक्रियामा ढुंगानाले देखाएको तल्लो स्तरको व्यवहारले यतिबेला प्रधानमन्त्री,अर्थमन्त्री आँफै आजित छन् । आईतबार सम्म पनि राजिनामा स्वीकृत नभए उनको जिम्मेवारी खोस्ने र डेपुटी गभर्नर मिश्रलाई जिम्मेवारी दिएर नयाँ गभर्नर नियक्ति प्रक्रिया अघि बढाउने सरकारको तयारी छ।’
गभर्नर नियुक्ति सिफारिस समितिले नयाँ गभर्नरका लागि ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने छ, जसमा १ जना वा दुवै डेपुटी गभर्नरको नाम समावेश गर्न सक्ने व्यवस्था छ । जसमा सिनियर भएका हिसावले निलम पर्ने भए पनि उनको खराब कार्यसम्पादनका कारण सिफारिसमा बम बहादुर मिश्रको सम्भावना बढेको छ। सम्भवत: आईतवारसम्म पनि निलमले आफ्नो पदीय जिम्मेवारी निभाईनन् भने मिश्र सिफारिसमा पर्ने देखिन्छ ।
१८ औं गभर्नरका लागि दर्जनौंको नाम चर्चामा रहेको भए पनि ६५ बर्षमाथिमा व्यक्ति गभर्नर बन्न नमिल्ने सर्वोच्चको अनतरिम आदेशपछि पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री र रबिन्द्र पाण्डे रेसबाट बाहिरिसकेका छन् । त्यसै वाणिज्य बैंकका बहालवाला अथवा हालै मात्र राजिनामा दिएर बसेका सीइओहरुलाई नियामक निकायको नेतृत्व (गभर्नर) बनाउन नमिल्ने सँस्थागत सुशासन अन्तर्गतको प्रावधान र प्रधानमत्रीको ओलीको जिकिरसमेत पछि रेसमा देखिएका प्रभु बैंकका सीइओ अशोक शेरचन र नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना पनि बाहिरिसकेका छन् । अब कामु गभर्नर ढुंगाना, डेपुटी गभर्नर मिश्र, डा. गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ मात्रै गभर्नरका प्रत्यासीका रुपमा देखिएका छन् । जसमध्ये भट्ट र श्रेठ गभर्नरका बलिया दावेवार हुन् ।
यधपी दशौँ वर्षदेखि गभर्नर बन्ने महत्वाकांक्षा बोकेका तर वाणिज्य बैंकको सीइओ पदमै रही आएका ढुंगानाले भने अझै नेपाली कांग्रेसका केहि नेतालाई प्रभावमा पारेर गभर्नरका लागि लबी गरिरहेका छन्। ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउने भन्दै करोडौं रूपैयाँ आर्थिक चलखेल भएको काग्रेस निकट स्रोतको दावी छ। त्यसो त डा. भट्टबिरुद्द अदालतमा अयोग्यताको रिट दायर समेत सीईओ ढुंगानाले नै दायर गर्न लगाएर प्रतिष्पर्धीलाई हटाउन खोजेको आरोप छ। ढुंगाना आर्बपति तथा नेपाली कांग्रेसक सांसद बिनोद चौधरीका विस्वासपात्र मानिन्छन्।
ज्ञानेन्द्रलाई गभर्नर बनाउन कांग्रेसकै केहि ठूला नेताले सभापति देउवालाई दवाव दिईरहेको एक नेताले बताए। उनी भन्छन् ,-‘गभर्नर बनाईदिन्छु भन्दै हाम्रै पार्टीका नेताहरुले ज्ञानेन्द्रबाट करोडौं रुपैयाँ बुझिसकेका छन्, कि त त्यो पैसा फिर्ता गर्नुपर्यो कि गभर्नर बनाउन पर्यो। तर सभापति ज्यु यसपटक योग्य व्यक्ति गभर्नर हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ। सोहि अनुरुप नै डा. गुणाकर भट्टलाई अघि सारिएको हो।’
‘सभापति ज्यु बचनको पक्का हुनुहुन्छ, बोली फेरेको थाहा छैन। त्यसैले पनि डा भट्ट नै गभर्नर बन्ने पक्कापक्की भएको छ।’ उनले भने।
डा. भट्ट विगत २५ वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । आर्थिक अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, सुपरिवेक्षण विभाग, राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुख भएर काम गरी सकेका डा. भट्ट दुईपटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । भट्ट स्नातकोत्तर तहमा त्रिभुवन विश्व विद्यालयका ‘गोल्डमेडलिष्ट’हुन् । भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाकै वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
