Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
पर्यटन

ठमेलमा पर्यटकको चहलपहल, ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिए

ठमेलमा पर्यटकको चहलपहल, ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिए

अर्थ प्लस
ठमेलमा पर्यटकको चहलपहल, ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिए

काठमाडौं, २० फागुन । पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ ।

वसन्त ऋतुको सुरुआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउन थालेका हुन् । सन् २०२० मा विश्वका विभिन्न मुलुकसहित नेपालमा सुरु भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् ।

ठमेलको चाक्सिबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आएका स्पा सङ्घ नेपालका सचिव एवं जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको बताउछन् । “अन्य समयमा दैनिक पाँच÷सात जना स्पाका लागि आउनुहुन्थ्यो, पछिल्लो केही दिनदेखि २० देखि २५ जनासम्म आउने गर्नुभएको छ, यो नेपाली पर्यटन व्यवसायीको लागि खुसीको कुरा हो”, उनी भन्छन् ।

क्यासिनोसहित काठमाडौँको ठमेलमा सञ्चालित पाँचतारे द मल्ल होटलका फुड एण्ड बेभरेज इञ्चार्ज राम पुडासैनी पछिल्लो समय होटलमा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको बताउछन् । “पर्यटक याम सुरु भएर होला, मार्च महिनामा ६० प्रतिशतभन्दा बढी होटलका कोठा बुकिङ भएका छन्”, उनी भन्छन् ।

ठमेलमा डेढ दशकदेखि ह्याण्डिक्राप्टको व्यवसाय गर्दै आउनुभएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पर्यटकीय याम सुरु भएसँगै उलन, पश्मिना, फेल्टलगायतका सामग्रीको व्यापार बढ्ने विश्वास व्यक्त गर्छन् । “कोरोना अगाडिजस्तो व्यापार छैन, पर्यटकको चहलपहलले आशा भने जागेको छ, सायद गत वर्षभन्दा यस वर्ष व्यापार पक्कै राम्रो हुन्छ”, उनी भन्छन् ।

ठमेलमा दरबार हेरिटेज होटल सञ्चालन गर्दै आएका दिनेश ढकाल फ्रेबुअरीदेखि होटलमा पर्यटकको सङ्ख्या बढेको बताउनुहुन्छ । “फेबु्रअरीमा हाम्रो होटलमा समग्रमा भन्दा ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिएका थिए, मार्चमा पनि ८० प्रतिशत भरिने आश हामीले लिएका छौँ”, ढकाल भन्छन् ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष विमल धमला पछिल्लो समय ठमेलमा बाह्य पर्यटकको चहलपहल बढेको बताउछन् । “पर्यटकीय याम सुरु भएर पनि होला, ठमेलमा यतिबेला पर्यटकको चहलपहल बाक्लोरुपमा देख्न सकिन्छ”, उनी भन्छन् । ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलभित्र दुईहजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

ठमेलमा पर्यटकको चहलपहल भए पनि ढल र बिजुलीका तार बिच्छाउनका लागि सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न समस्या भएको छ । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको अधिकाशं क्षेत्र भने २६ नं वडामा पर्छ ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी बाटोमा ढल हाल्दा बाटो बिग्रिएको बताउछन । एक हप्ताभित्र ठमेलमा बिग्रिएका सडक कालोपत्र गर्ने तयारी महानगरपालिकाले गरिरहेको उहाँको भनाइ छ । काठमाडौँभित्र भित्रिने ८० प्रतिशतभन्दा बढी पर्यटक ठमेल घुम्नका लागि आउने गरेका छन् । ठमेललाई सफा र सुन्दर बनाउनका लागि महानगरपालिका लागिरहेको वडाध्यक्ष तिवारी बताउछन् ।

वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो । यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटकले रुचाउने गर्दछन् । यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् । अधिकांश विदेशीले आरोहणका लागि सगरमाथा नै जान खोज्ने गरेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यसवर्ष फेबु्रअरी महिनामा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने यस वर्षको फेबु्रअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् ।

गत वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई ५५ पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार फेबु्रअरीमा २५ हजार पाँच सय ७८ पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै, चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार ८९, थाइल्याण्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाई १३ दिनसम्म हुने गरेको छ भने दैनिक खर्च ४५ डलरसम्म हुने गरेको पाइन्छ ।

सम्बन्धित समाचार