काठमाडौं, जेठ १५ । सरकारले आगामी बजेटमा कर्मचारीको तलब बढ्ने दाबी गरिए पनि बढाएको छैन। तर, महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए ।
कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ । तथापि २०८२ साउन १ देखि लागू हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाउने उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
सरकारले ल्याएको बजेटमा चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड छ। पुँजीगत ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ।
सरकारले आउँदो आर्थिक वर्षमा स्रोतका लागि राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड आउने प्रक्षेपण गरिएको छ। त्यस्तै वैदेशिक ऋण २ खर्ब ३३ अर्ब ६४ करोड लिने र आन्तरिक ऋण ३ अर्ब ६२ करोड उठाउने भएको छ।
