काठमाडौ, २५ फागुन । अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारका लगानीकर्ताले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री पुनले पुँजीबजारमा देखिएका नीतिगत समस्या सहजिकरण र सहज वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले लगानीकर्ताले विचलित हुने भन्दा पनि उत्साहका साथ लगानी गर्न आवश्यक रहेको बताए । अर्थमन्त्री पुनले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभागिता जनाउने ६० लाख लगानीकर्ताको मागलाई सरकारले सम्बोधन गर्न तयार रहेको बताए ।
उनले पुँजीबजारमा लगानीकर्ताले ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आगामी दिनमा कुनै समस्या आउन नदिने प्रतिवद्धता जनाए । अर्थमन्त्री पुनले पुँजीबजारमा विगतको जस्तो समस्या नहुने भन्दै पँजीबजारका नीतिगत समस्या सहजिकरण गर्ने बताए ।
अर्थमन्त्री पुनले अर्थतन्त्र चलायमान बनाउने घर जग्गा कारोबारमा रहेका समस्या समाधान गरी सहज हुने विश्वास व्यक्त गरे । उनले पँुजीबजार लगानी कर्ता तथा घरजग्गा व्यवसायीहरु आत्तिनु पर्ने अवस्था नभएको बताए । उनले सन् २००८ मा पनि यस्ता समस्या समाधान गरेको अनुभव आफूसँग रहेको उल्लेख गरे ।
अर्थमन्त्री पुनले अर्थतन्त्र संकट भन्दा पनि मन्दीमा रहेको भन्दै मन्धीलाई सुधार गर्नसक्ने अवस्था रहेको दाबी गरे । उनले सरकारले पुँजीगत खर्चलाई तिब्रता दिएर राजश्व वृद्धि गर्न जरुरी रहेको बताए । अर्थमन्त्री पुनले पछिल्लो समय देखिएका मिटरब्याज,लघुवित्त र सहकारीका समस्या सरकारले क्रमश समाधान गर्दै जाने बताए । उनले सहकारी र लघुवित्तका निक्षेपकर्ता नडाउन आग्रह गर्दै निक्षेप डुब्न नदिने दायित्व सरकारको भएको भन्दै सरकारले नीतिगत रुपमा समाधान खोज्ने बताए ।
