Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ऋण थपेको थप्यै सरकार, प्रत्येक नेपालीको भागमा ९० हजार रुपैयाँ पर्ने

ऋण थपेको थप्यै सरकार, प्रत्येक नेपालीको भागमा ९० हजार रुपैयाँ पर्ने

बार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७५.७२ प्रतिशत रहेको छ भने यसमा आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ९५.४५ र ४५.७२ प्रतिशत रहेको छ ।

अर्थ प्लस
ऋण थपेको थप्यै सरकार, प्रत्येक नेपालीको भागमा ९० हजार रुपैयाँ पर्ने

काठमाडौँ , असार ५ । नेपालको सार्वजनिक ऋणको भार २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ थियो । असार ५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप ५० अर्ब ५१ करोड रुपैयाँ ऋण स्वीकृत गरेसँगै ऋणको आकार बढेर २७ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । 

चालु आर्थिक बर्ष २०८१/८२ को ११ महिनामा सरकारले ४ खर्ब १४ अर्ब १९ करोड रुपैयाँ ऋण लिएको छ । बैशाख मसान्तसम्म भने सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ बराबर रहेको थियो । 

११ महिनामा विनिमय दरमा आएको उतार चढावले ७३ अर्ब २ करोड ५८ लाख ऋणभार थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यस अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड भुक्तानी गरिएको छ । यसरी ११ महिनामा खुद ऋण वृद्धि २ खर्ब २० अर्ब ५८ करोड बराबर भएको छ । 

गत आर्थिक बर्ष असार मसान्तसम्म ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण २ खर्ब ७१ अर्ब रुपैयाँ बढीले बृद्धि भएको हो ।

यसैगरी जेठ मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी)का आधारमा २२.३१ प्रतिशत हो । यसैगरी, बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड पुगेको छ । जुन जीडीपीका आधारमा २४.२३ प्रतिशत हो । 

कुल सार्वजनिक ऋण भने जीडीपीका आधारमा ४३.४७ प्रतिशत हाराहारी पुगेको छ । नेपालको सार्वजनिक ऋण नेपालको जनसङ्ख्याको आधारमा भाग लगाउने हो भने प्रतिव्यक्ति ९१ हजार रुपैयाँ नाघ्ने देखिन्छ । 

चालु आर्थिक वर्षमा सरकारले जम्मा ५ खर्ब ४७ अब सार्वजनिक ऋण परिचालन लिने लक्ष्य राखेकोमा जेठ मसान्त सम्ममा ४ खर्ब १४ अर्ब १९ करोड रुपैयाँ लिएको छ। 

बार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७५.७२ प्रतिशत रहेको छ भने यसमा आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ९५.४५ र ४५.७२ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिकको हिस्सा ७६.०५ प्रतिशत र बाह्य ऋणको हिस्सा २३.९५ प्रतिशत रहेको कार्यालयको तथ्याङ्क छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकसँग २० अर्ब ७९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । 

यसैगरी, विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७२ करोड  रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने सरकारको निर्णय रहेको छ । यससँगै सरकारको ऋण थप ५० अर्ब ५१ करोड रुपैयाँले बढेको हो ।

यसैगरी, सरकारले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान पनि स्वीकार गर्ने भएको छ । 

जेठ मसान्तसम्म सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा ३ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ खर्च भएको कार्यालयको तथ्याङ्क छ । यस वर्ष ऋण सेवा खर्चबापत ४ खर्ब २ अर्ब ८५ करोड बजेट भुक्तानीको लक्ष्य छ ।

अहिलेसम्म विनियोजनको ८१.८२ प्रतिशत खर्च गरिएको छ । कार्यालयको तथ्याङ्क अनुसार यस अवधिमा भएको खर्च कुल बजेट खर्चको ५.४ प्रतिशत हो । 

आन्तरिक ऋणको साँवा भुक्तानीमा २ खर्ब २३ अर्ब ३५ करोड खर्च भएको कार्यालयले प्रकाशति गरेको सूचनामा उल्लेख छ । ब्याज भुक्तानीमा ५४ अर्ब ३७ करोड खर्च भएको देखिन्छ । 

यस अवधिमा वाह्य ऋणको साँवा भुक्तानीमा ४३ अर्ब २९ करोड र ब्याज भुक्तानीमा ८ अर्ब ५७ करोड खर्च भएको तथ्याङ्क छ । ११ महिनामा कुल साँवा भुक्तानीमा २ खर्ब ६६ अर्ब ६५ करोड र ब्याज भुक्तानीमा ६२ अर्ब ९४ करोड खर्च भएको तथ्याङ्क छ ।

सम्बन्धित समाचार