काठमाडौ, २८ फागुन । अर्थमन्त्री बर्षमान पुन अनन्तले पूँजी बजारलाई देशको आर्थिक विकासको आधार मान्दै तत्काल सुधार गर्न मातहतका तीन नियमनकारी निकायलाई सात दिन भित्र सुधार कार्ययोजना पेश गर्न निर्देशन दिएका छन्।
अर्थमन्त्री पुनको निर्देशनमा हिजो अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई सात दिन भित्र कार्ययोजना पेश गर्न पत्र पठाएको हो।
पत्रमा देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई सात दिन भित्र कार्ययोजना पेश गर्न अर्थमन्त्री पुनले निर्देशन दिएको कुरा उल्लेख छ।
फागुन २७ गतेको मितिमा ती निकायहरुको नाममा काटिएको पत्र हिजै सम्बन्धित कार्यालयहरुको जानकारीमा पुगिसकेको बताईएको छ। अब ती निकायहरुले पूँजी बजारका सरोवालाहरुको राय समेत लिएर सात दिन भित्रमा कार्ययोजना पेश गर्नुपर्ने र त्यसपछि अर्थमन्त्रीबाट त्यसको कार्यान्वयनका लागि निर्देशन हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
पुन अर्थमन्त्रीमा नियुक्त हुनासाथै पुँजी बजारका समस्याहरु समाधान गरेर लगानीकर्ताहरुको मनोबल उकास्ने प्रतिबद्धता व्यक्त गरेका थिए। लामो समयदेखि निराशाको चरणबाट गुज्रिरहेको पूँजी बजारमा ६२ लाख भन्दा बढी जनताको प्रत्यक्ष लगानी छ।

