Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

असारको १६ दिनमा ९६ अर्ब सरकारी खर्च, ४० अर्ब आम्दानी

असारको १६ दिनमा ९६ अर्ब सरकारी खर्च, ४० अर्ब आम्दानी

अर्थ प्लस
असारको १६ दिनमा ९६ अर्ब सरकारी खर्च, ४० अर्ब आम्दानी

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको असार महिनामा १६ दिनमा कुल ९६ अर्ब ८६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्था समेतमा गरी सो बराबरको खर्च गरेको हो ।

यसमध्ये चालु खर्चतर्फ यो अवधिमा ५८ अर्ब ९९ करोड ६० लाख रुपैयाँ, पुँजीगततर्फ १६ अर्ब ५३ करोड ६० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २१ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । 

योसँगै चालु आर्थिक वर्षको यो अवधिसम्म १३ खर्ब ७९ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये चालुतर्फ ९ खर्ब १० अर्ब ५७ करोड, पुँजीगततर्फ १ खर्ब ५९ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । 

चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो । योमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्चको लक्ष्य थियो । 

गत जेठ १५ गते अर्थ मन्त्रालयले उक्त बजेट खर्चको संशोधित अनुमान गरेको थियो । यसमध्ये चालुतर्फ १० खर्ब ९ अर्ब ४८ करोड, पुँजीगततर्फ २ खर्ब ९३ अर्ब ८६ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ५८ अर्ब ४६ करोड रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य छ ।

४० अर्ब आम्दानी

यो अवधिमा सरकारले कुल ४० अर्ब ३३ करोड ९९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कर राजश्व, गैरकर राजस्व, अनुदान र अन्य आम्दानी समेत गरी यस अवधिमा सो बराबरको आम्दानी प्राप्त भएको हो । 

यो रकममध्ये कर राजस्वतर्फ ३४ अर्ब ९३ करोड २८ लाख, गैरकर राजस्वतर्फ २ अर्ब ५५ करोड ७३ लाख तथा अनुदानतर्फ २ अर्ब ७३ करोड ९७ लाख तथा अन्य आम्दानीतर्फ ११ करोड १ लाख रुपैयाँ आम्दानी रहेको छ । 

सरकारले यो आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब ३० करोडको राजस्व तथा ५२ अर्ब ३२ करोड २० लाख रुपैयाँ बराबरको अनुदानको लक्ष्य थियो । 

गत बजेट वक्तव्यमा १२ खर्ब ६७ अर्ब ३९ करोड र अनुदान ३४ अर्ब ८९ करोड आउने संशोधित अनुमान गरिएको छ ।

सम्बन्धित समाचार