Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

९ प्रतिशतमै झर्यो बैंकहरुको आधार दर, एकल अंकको ब्याजदरमा नै कर्जा पाइने अवस्था, शेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने

९ प्रतिशतमै झर्यो बैंकहरुको आधार दर, एकल अंकको ब्याजदरमा नै कर्जा पाइने अवस्था, शेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने

अर्थ प्लस
९ प्रतिशतमै झर्यो बैंकहरुको आधार दर, एकल अंकको ब्याजदरमा नै कर्जा पाइने अवस्था, शेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने

काठमाडौ, २९ फागुन । बैंकहरुको ब्याजदर लगातार घट्न थालेको छ। बैंकहरुमा अधिक तरलता भएपछि निक्षेपको ब्याजदर घटाउदा कर्जाको ब्याजदर पनि घट्दै गएको छ।

पछिल्लो समय बैंकहरुले निक्षेपमा ब्याजदर घटाउँदै लगेका छन्। यसले गर्दा बैंकहरुको लागत घटेको छ भने त्यसले कर्जाको ब्याजदर पनि घटाएको छ।

बैंकहरुले प्रकाशित गरेको माघ मसान्तको तथ्याँक अनुसार अहिले बैंकहरुको औसत आधार दर ९.०६ प्रतिशतमा झरेको छ। पुस महिनासम्ममा बैंकहरुको औसत आधार दर ९.४२ प्रतिशत थियो। अहिले सबैजसो बैंकको आधार दर एकल अंकमा नै छ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकहरुको आधार दर १० प्रतिशत माथि थियो। तर अहिले आधार दर निकै तल झरेको छ।

गत आर्थिक वर्षको माघसम्ममा बैंकहरुको आधार दर १०.९१ प्रतिशत पुगेको थियो। सो पश्चात घट्न थालेको आधार दर गत भदौसम्ममा १०.१४ प्रतिशतमा झरेको थियो भने असोजदेखि एकल अंकमा झरेको हो। विगत एक वर्षमा बैंकहरुको आधार दर साढे १ प्रतिशत विन्दुले झरेको छ।

  • कर्जाको ब्याजदर निरन्तर घट्दै

बैंकहरुको कर्जाको ब्याजदर पनि निरन्तर घट्दै गएको देखिएको छ। गत वर्षको चैतसम्ममा १३.०३ प्रतिशत रहेको बैंकहरुको कर्जाको औसत ब्याजदर अहिले घटेर ११.१३ प्रतिशतमा झरेको छ।

कोभिडको समयमा बैंकहरुको कर्जाको औसत ब्याजदर साढे ८ प्रतिशतको हाराहारीमा झरेको थियो। अहिले पनि बैंकहरुको कर्जाको ब्याजदर विस्तारै घट्दै जान थालेको छ। अहिले बैंकहरुमा अधिक तरलता रहेको र आधार दर समेत एकल विन्दुमा झरिसकेकोले केहि ऋणीले एकल अंकको ब्याजदरमा नै कर्जा पाउने अवस्था देखिएको छ। केहि समय अघिसम्म ब्याजदर महंगो भएकोले कर्जा लिन डराइरहेका व्यवसायी अब भने कर्जा सस्तिएसँगै कर्जा लिने योजना बनाउन थालेका छन्।

पछिल्लो समय निक्षेपको ब्याजदर लगातार घट्दो क्रममा छ। बैंकहरुमा अधिक तरलता भएको कारण बैंकहरुले निक्षेपको ब्याजदर घटाउदै लगेका छन्। यसले गर्दा बैंकहरुको लागत घटाउने छ। जसको असर आधार दरमा देखिन्छ। आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ र ऋणीले सस्तो ब्याजदरमा नै कर्जा पाउने छन्।

  • शेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने

बैंकहरुको ब्याजदर घट्दा त्यसले शेयर बजारमा समेत सकारात्मक प्रभाव पार्ने छ। बैंकको ब्याजदर बढ्दा शेयर बजार घट्ने र ब्याजदर घट्दा शेयर बजार बढ्ने गरेको छ।

पछिल्लाे समय ब्याजदर निरन्तर रुपमा घट्दै गएकोले शेयर बजारले सकारात्मक लय समाउने आँकलन गरिएको छ। ब्याजदर घटेसँगै लगानीकर्ताले बैंकबाट शेयर धितो कर्जा समेत बढाउन थालेका छन्। यसले बजारमा माग पक्षलाई बलियो बनाउने छ। जसले गर्दा बजारमा सकारात्मक प्रभाव देखिने जानकारहरु बताउछन्।

सम्बन्धित समाचार