Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

अर्थ प्लस
चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन ।

अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्ष  विकासतर्फ अर्थात् पूँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा १८ असारसम्म १ खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ ।

खर्च विनियोजन बजेटको तुलनामा ४६.५९ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष  २०८०/८१ मा भन्दा पनि कमजोर रहेको सरकारी तथ्यांकले देखाउँछ ।

महालेखाका अनुसार गत आर्थिक वर्ष सरकारले ३ खर्ब २ अर्बको पूँजीगत बजेट ल्याएको थियो भने गत आर्थिक वर्ष  १८ सम्ममा पूँजीगत बजेट ४८.५७ प्रतिशत खर्च गरिसकेको थियो ।

महालेखाका अनुसार चालु आर्थिक वर्ष  विकास बजेटभन्दा पनि ज्यादा अर्थात् ३ खर्ब ६७ अर्ब बजेट ऋणको दायित्व व्यवस्थापनमा छुट्याएको थियो । जसअन्तर्गत अहिलेसम्म विनियोजित बजेटमध्ये ३ खर्ब ११ अर्ब बजेट ऋणको साँवा.ब्याजसहित खर्च सरकारले गरिसकेको छ । अर्थात्, उक्त शीर्षकमा छुट्याइएको बजेटमध्ये करिब ८६ प्रतिशत खर्च भइसकेको छ ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समग्र पक्ष हेर्दा कुल बजेट करिब ७५ प्रतिशत खर्च भइसकेको छ । आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो तर मध्यावधि समीक्षा मार्फत तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिब २ खर्बले घटाएको थियो ।

चालु बजेटको सबैभन्दा बढी चालु खर्च भएको छ । ११ खर्ब ४० अर्ब यो शीर्षकमा विनियोजन गरिएकोमा अहिलेसम्म करिब ८२ प्रतिशत खर्च भइसकेको छ । चालु बजेट खासगरी विकास निर्माणका कामभन्दा कर्मचारीको तलब, भत्ता, कार्यालय सञ्चालन जस्ता प्रशासनिक काममा खर्च हुने गरेको छ । प्रत्येक वर्ष यस्तो खर्च भारी दरमा बढ्दै गइरहेको छ ।

सम्बन्धित समाचार