Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अर्थतन्त्र ४.८ प्रतिशतले वृद्धि हुने अनुमान, आर्थिक सुधारको संकेत

अर्थतन्त्र ४.८ प्रतिशतले वृद्धि हुने अनुमान, आर्थिक सुधारको संकेत

अर्थ प्लस
अर्थतन्त्र ४.८ प्रतिशतले वृद्धि हुने अनुमान, आर्थिक सुधारको संकेत

काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (माघ–चैत)मा नेपालको अर्थतन्त्र ४.८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।

चालू वर्षको पहिलो त्रैमास (साउनदेखि असोज) मा ३.७ प्रतिशतको वृद्धिदर अनुमान गरिएको थियो। कार्यालयका अनुसार गत आव २०८०/८१ को सोही अवधिको तुलनामा अर्थतन्त्र वृद्धि हुने देखिएको हो।

दोस्रो त्रैमास (कात्तिकदेखि पुस) मा ४.४ प्रतिशत अनुमान गरिएको थियो। तेस्रो त्रैमासमा ४.८ प्रतिशत पुगेको अनुमान कार्यालयको छ। त्रैमास अवधिमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक रहने अनुमान गरिएकाले आर्थिक सुधारको संकेत गर्ने कार्यालयको भनाइ छ।

विशेषगरी निर्माण क्षेत्रको सुधारले गति लिएको छ, जबकि अघिल्ला दुई आर्थिक वर्षमा निर्माण क्षेत्र ऋणात्मक थियो।

अर्थतन्त्र मापन गर्ने १८  क्षेत्रमध्ये विद्युत् उत्पादन तथा वितरणमा १२.५ प्रतिशतले उल्लेखनीय वृद्धि भएको छ। निर्माण क्षेत्र ६.९ प्रतिशतले बढेको छ भने खानी तथा खनिज पदार्थ उत्खनन र वित्तीय तथा बिमा क्षेत्र ६.७ प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार सूचना तथा सञ्चार क्षेत्र ६.६ प्रतिशत, यातायात तथा भण्डारण ६.३ प्रतिशत र औद्योगिक उत्पादन ६.२ प्रतिशतले बढेको देखिएको छ।

अर्थतन्त्रमा सबभन्दा बढी योगदान गर्ने कृषि क्षेत्र को वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान  छ। यस वर्ष हिउँदे बाली, तरकारी बाली र केही नगदेबालीको उत्पादन बढेको छ। थोक तथा खुद्रा व्यापार ५.६ प्रतिशतले वृद्धि हुने अनुमान छ।

दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.६ प्रतिशतले मात्र वृद्धि हुने अनुमान कार्यालयले गरेको छ।

सम्बन्धित समाचार