Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अबको मौद्रिक नीति जिम्मेवार, दीर्घ दृष्टिमा आधारित हुनुपर्छ- पूर्वअर्थमन्त्री महत

अबको मौद्रिक नीति जिम्मेवार, दीर्घ दृष्टिमा आधारित हुनुपर्छ- पूर्वअर्थमन्त्री महत

अर्थ प्लस
अबको मौद्रिक नीति जिम्मेवार, दीर्घ दृष्टिमा आधारित हुनुपर्छ- पूर्वअर्थमन्त्री महत

काठमाडौं। पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब आउने मौद्रिक नीतिले अघिल्ला अनुभवबाट पाठ सिक्न जरुरी भएको बताएका छन्। 

संघीय संसदको अर्थ समितिमा बोल्दै उनले विगतमा ‘हर्ड मेन्टालिटी’मा गइएका, कहिले अत्यधिक रेगुलेसन, कहिले अत्यधिक कर्जा प्रवाह गरिएको उल्लेख गर्दै यस्तो ‘रोलर कोस्टर’ शैली अन्त्य गर्नुपर्नेमा जोड दिए।

‘अब उच्च व्यावसायिकता, दीर्घकालीन सोच र जिम्मेवारीपूर्ण दृष्टिकोणका साथ मौद्रिक नीति ल्याइनुपर्छ,’ उनले भने।

साना कर्जाका ग्राहक झन्झटमा, ठूला कर्जाका लागि प्राथमिकता
डा. महतले बैंकहरूले साना कर्जा लिनेलाई झन्झटमा पारिरहेको र ठूला कर्जालाई प्राथमिकता दिएकोप्रति आपत्ति जनाए। ‘यो मानसिकता उल्ट्याउनुपर्छ,’ उनले भने।

कृषि विकास बैंकको उद्देश्य अहिले बिग्रिएको बताउँदै उनले भने, ‘हामीले कृषि प्रवर्द्धनका लागि स्थापना गरेका बैंक अहिले हाइड्रोपावरमा पैसा लगाइरहेका छन्।’

कृषि क्षेत्र उपेक्षित, युवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता

उनका अनुसार कृषि क्षेत्रमा कर्जा प्रवाह ७ प्रतिशतभन्दा तल झरेको छ। त्यो पनि वास्तविक कृषि उत्पादनमा प्रयोग भएको छैन। वैदेशिक अनुभव लिएर फर्किएका युवा, प्रविधि प्रयोग गर्ने किसानहरूलाई प्राथमिकता दिने मौद्रिक र वित्तीय नीति ल्याउनुपर्ने उनको तर्क थियो।

‘बैंकहरू र व्यवसायीहरूबीच हितसंघर्ष देखिएको छ,’ महतले भने, ‘लगानीकर्ता आफैं व्यवसायी छन्, यस्तो अवस्थामा पारदर्शिता र नियमनमा सन्तुलन जरुरी छ।’

उनले राष्ट्र बैंकले कुनै व्यक्तिलाई पूरै कर्जा तिर्न निर्देशन दिएकोप्रति आपत्ति जनाउँदै थपे, ‘बैंकलाई कुनै समस्या छैन भने राष्ट्र बैंकले यस्तो निर्देशन दिनु अस्वाभाविक हो।’

उनले बजेटको साइजभन्दा कुशल कार्यान्वयन महत्वपूर्ण भएको उल्लेख गरे। ‘५ प्रतिशत ऋण सीमा १० प्रतिशत बनाउने भनिँदैछ, तर रकम कुशलतापूर्वक खर्च नभए संकट झन बढ्छ,’ महतले भने।

उनका अनुसार सामाजिक क्षेत्रमा गरिने अत्यधिक खर्च प्रतिफलमुखी छैन। उनले कागज बनाउनेलाई बढी दिइने तर किसान, उत्पादक वर्ग उपेक्षित भएको तर्क राखे।

सम्बन्धित समाचार