काठमाडौं, चैत २ । भारतमा पेट्राेल र डिजेलकाे मूल्य घटेकाे छ । शुक्रबार प्रतिलिटर २ रूपैयाँले पेट्राेल र डिजेलकाे मूल्य घटाइएकाे हाे ।
पेट्रोलियम कम्पनीहरूले हिजो प्रतिलिटर २ रुपैयाँ (भारतीय रूपैयाँ) ले मूल्य घटाएको घोषणा गरेका थिए । याे दर शुक्रबार बिहानदेखि लागु गरिएकाे छ । भारतमा पेट्राेल र डिजेलकाे मूल्य घटेपछि नेपालमा पनि घट्न सक्ने आंकलन गरिएकाे छ ।
अहिले दिल्लीमा पेट्रोल प्रतिलिटर ९४.७२ भारू पर्दछ जुन यसअघि ९६.७२ भारू पर्ने गरेकाे थियाे । डिजेल भने ८७. ६२ भारू पर्ने भएकाे छ। पहिला डिजेल ८९.६२ भारूमा पाइने गरेकाे थियाे ।
यसैगरी, भोपालमा पेट्रोलको मूल्य १०६ रुपैयाँ ४७ पैसा र डिजेलको मूल्य ९१ रूपैयाँ ८४ पैसा प्रतिलिटर छ । जयपुरमा पेट्रोल प्रतिलिटर १०४ रूपैयाँ ८८ पैसामा उपलब्ध छ भने डिजेल प्रतिलिटर ९० रूपैयाँ ३६ पैसामा उपलब्ध छ । राजस्थान सरकारले पनि हिजो पेट्रोल र डिजेलमा २५ भ्याट घटाएको थियो जसका कारण पेट्रोल प्रतिलिटर ३.६० रुपैयाँ र डिजेल प्रतिलिटर ३.३६ भारतीय रुपैयाँले सस्तो भएको छ ।
सन् २०२२ को मे महिनामा पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँले घटेको थियो
यसअघि सन् २०२२ मा पेट्रोल र डिजेलको मूल्य घटाइएको थियो । २०२२ मे २१ मा भारतमा पेट्रोल प्रतिलिटर ८ भारू र डिजेलमा प्रतिलिटर ६ भारतीय रुपैयाँ अन्तःशुल्क घटाउने घोषणा गरेको थियो । नयाँ मूल्य मे २२ देखि लागू गरिएको थियाे। तर, अहिले घटेको मूल्यलाई आयल मार्केटिङ कम्पनीहरूले घटाएका छन् । यी कम्पनीहरूले हरेक दिन बिहान ६ बजे मूल्य परिमार्जन गर्छन्।
भारतमा पेट्रोल र डिजेलको मूल्य कसरी निर्धारण गरिन्छ ?
२०१०काे जूनसम्म भारत सरकारले पेट्रोलको मूल्य निर्धारण गर्दथ्यो र हरेक १५ दिनमा परिवर्तन हुने गरेको थियो । २०१०काे जून २६ पछि भने भारतीय सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने जिम्मेवारी आयल कम्पनीहरूलाई दिएकाे थियाे। त्यस्तै, २०१४ असोजसम्म डिजेलको मूल्य पनि सरकारले तोकेको थियो । अक्टोबर १९ अक्टाेबरदेखि सरकारले यो काम पनि आयल कम्पनीहरूलाई हस्तान्तरण गरेको थियो।
हाल आयल कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, विनिमय दर, कर, पेट्रोल र डिजेलको ढुवानी लागतलगायत अन्य धेरै कुरालाई ध्यानमा राखेर पेट्रोल र डिजेलको मूल्य दैनिक निर्धारण गर्छन्।
भारतले पेट्रोल र डिजेलमा भारी कर उठाउँदै
भारतमा अहिले पनि पेट्रोलको आधार मूल्य ५५ भारतीय रुपैयाँको हाराहारीमा छ तर केन्द्र तथा प्रदेश सरकारले कर लगाउँदा ९५ भारु पुग्ने गरेकाे छ । यसका लागि भारतकाे केन्द्र सरकारले १९ रूपैयाँ ९० पैसा अन्तःशुल्क लिइरहेको छ । यसपछि राज्य सरकारहरूले आफ्नै अनुसार भ्याट र उपकर उठाउँछन्, त्यसपछि यसको मूल्य आधार मूल्यको करिब २ गुणा बढ्छ।
