Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा गत आवमा १३ अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा गत आवमा १३ अर्ब राजस्व संकलन

अर्थ प्लस
आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा गत आवमा १३ अर्ब राजस्व संकलन

काठमाडौं- आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१/८२ मा रु १२ अर्ब ९८ करोड राजस्व संकलन गरेको छ । कार्यालयलाई आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा रु १३ अर्ब २७ करोड राजस्व संकलनको लक्ष्य दिएको थियो । 

वार्षिक लक्ष्यको ९७ दशमलव ८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले जानकारी दिए । विगतका केही वर्षमा आन्तरिक राजस्व विभागको राजस्व सङ्कलन लक्ष शतप्रतिशत पूरा हुन सकेको थिएन । आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा राजस्व रु दुई अर्ब ३५ करोड बढी राजस्व संकलन गरी २५ दशमलव ७ प्रतिशतले वृद्धि भएको उनले बताए । 

विगतमा मासिक राजस्व संकलनको लक्षसमेत पूरा गर्न नसकेको कार्यालयले गत आवको भदौ, असोज, फागुन, वैशाख, जेठ र असार महिनामा सतप्रतिशत राजस्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत पोखरेलले जानकारी दिए । कार्यालयले गत आवमा आयकरतर्फ रु एक अर्ब ७० करोड ११ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ८६ करोड आठ लाख र अन्तः शुल्कवापत रु नौ अर्ब एक करोड ५६ लाख बढी राजस्व संकलन गरेको छ । 

सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तःशुल्कतर्फ आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु एक अर्ब ९५ करोडभन्दा बढी राजस्व उठेको थियो । यस्तै आयकरतर्फ रु ३७ करोड (२८ दशमलव ३ प्रतिशत) र मूल्य अभिवृद्धि करतर्फ रु २९ करोड (१६ दशमलव ३ प्रतिशत)ले बढी राजस्व उठेको प्रमुख कर अधिकृत पोखरेलले बताए । 

देशको अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार देखिनु र उद्योग करकारखानमा उत्पादन क्षमता बढ्दा करको आकार स्वभाविक रुपमले बढेको उनको भनाइ छ । नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, करको दायरामा नआएका र छुटेकालाई दायरामा ल्याउने र बक्यौता असुलिमा तीव्रता दिएर कर बक्यौता असुलीलगायतका काममा ध्यान दिएर लाग्दा कर छल्नेलाई कारबाही गर्ने जस्ता कारणले राजस्व संकलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोखरेलले बताए ।

यसका साथै सर्वसाधारणमा कर शिक्षा प्रवाह र अनुसन्धानको प्रभावकारीता, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी कर छल्नेमाथि अनुसन्धान र कारबाहीको दायरामा ल्याउने कार्यले राजस्व सङ्कलनको लक्ष्य नजिक पुग्न सकिएको उनी बताउछन् । 

“अहिले कर बुझाउनुपर्छ । करको दायरामा जानुपर्छ भन्ने भावना आमनागरिकमा देखिएको र आम करदातामा करको सचेतना बढ्दै गएकाले राजस्व संकलनमा सुधार भएको हो”, उनले भने । 

सरकारले राजस्व दाखिलालगायतका भुक्तानीका काममा डिजिटल प्रणाली लागू गरेपछि साना करदाता सेवाग्राहीलाई सहज भएको प्रमुख कर अधिकृत पोखरेल बताउछन् । उनले डिजिटल प्रणाली लागू हुँदा करदाता सेवाग्राही कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा रुपन्देही जिल्लाका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं. १ देखि ४ र वडा नं.  ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका वडा नं. ५, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका पर्छन् । -रासस

सम्बन्धित समाचार