काठमाडौं, ६ चैत । गत महिना ११ सय हाराहारी विद्युतीय गाडी भित्रिएको नेपाली बजारमा इभी आयात ह्वातै घटेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन महिनामा २७६ ओटा मात्रै विद्युतीय गाडी भित्रिएका हुन ।
व्यवसायीहरुले गत महिना ल्याएकै गाडी बिक्री गर्न नसकेपछि कम परिणाममा गाडी ल्याएको जनाएका छन ।
चालु आर्थिक वर्षको आठ महिनामा ६ हजार ४३५ आयात भएका छन्। एक व्यवसायीका अनुसार चीनमा नयाँ वर्ष र नेपालमा पुरानै स्टक बाँकी हुँदा अघिल्ला महिनाको तुलनामा कम गाडी भित्रिएको बताए ।
‘अघिल्लो महिना करिब १४ सय हाराहारी गाडी भित्रियो, माघमा ११ सय गाडी आयो । यी दुई महिनामा ठूलो परिणाममा गाडी आएकाले फागुनमा कम गाडी आएका हुन,’ ती व्यवसायीले भने ।
उनका अनुसार अघिल्लो महिना ल्याएका गाडी नै स्टकमा छन । पछिल्लो समय नेपाली इभी बजारमा टाटा र बीवाईडी ब्रान्डको गाडी सर्वाधिक बिक्री हुँदै आएको छ । व्यवसायीको तथ्याङ्क अनुसार २०२३ मा टाटाका २९ सय हाराहारी र बिवाईडीका २१ सय हाराहारी गाडी बिक्री भएका छन । तस्रोमा हुन्डाई छ ।
पछिल्लो समय इन्धन गाडीको बजार इभीले खोस्दै गएपछि इन्धनबाट चल्ने गाडीको व्यापार शुन्य जस्तै छ । जसको कारण तथ्याङ्कमा इभी गाडीको आयातमा रेकर्ड बन्दै गएको छ ।
भन्सार विभागले हाल सार्वजनिक गरेको तथ्याङ्कमा ५० किलोवाटसम्मका २७ सय ४६, ५० देखि १०० किलोवाटका ३ हजार ५९४ ओटा गाडी नेपाल भित्रिएका छन । त्यसैगरी २०१ किलोवाट माथीका २० वटा मात्रै आयात भएका छन्। ५० किलोवाटसम्मका गाडी भारतीयको बचस्व रहदाँ ५० देखि १०० किलोवाटसम्म चिनियाँ ब्रान्डका गाडी देखिएका छन्।
जसमा ५० किलोवाट तलका टाटाको टियागोसँगै एमजी कोमेट भारतबाट आउँछन्। २ हजार ४८ वटा भारतबाट आउँदा चीनबाट ६६४ वटा मात्रै भित्रिए। इन्डोनेसियाबाट ३४ वटा गाडी आयात भएका छन्।
५१ देखि १०० किलोवाटमा ३ हजार २६० चीनबाट आउँदा भारतबाट ३३२ वटा मात्रै भित्रिएका छन्। चीनबाट बीवाईडीको अट्टो ३, सेरेस ३ लगायतको आयात बढी रहेको छ। ८ महिनामा १५ अर्ब ८१ करोड रुपैयाँ बराबरका विद्युतीय निजी गाडी भित्रिएका छन्।
त्यसैगरी आठ महिनामा पेट्रोल इन्जिनका २ हजार ३५९ भित्रिएका छन्। डिजेल इन्जिनका ४१० वटा मात्रै आयात भएका छन्। विभागका अनुसार फागुनसम्म ८१ हजार ७२९ मोटरसाइकल र स्कुटर आयात भएका छन्।
