काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निषेधाज्ञा अवधिको विद्युत् महसुलमा छुट र थप दस्तुर समायोजन गर्ने निर्णय गरेको छ । यो निर्णय भदौ २९ गते कार्यकारी निर्देशकस्तरबाट भएको हो ।
जेनजी आन्दोलनका कारण भदौ २३ र २४ गते देशका अधिकांश जिल्लामा निषेधाज्ञा र कर्फ्यू लागू भएको थियो, जसले गर्दा प्राधिकरणका महसुल काउन्टरहरू सञ्चालन हुन सकेनन् । यस समस्यालाई ध्यानमा राख्दै प्राधिकरणले भदौ २४ देखि असोज २ गतेसम्म (१० दिन) उपभोक्ताले पाउने रिबेट वा जरिवानाको सुविधालाई एम–पावर बिलिङ सिस्टममा ‘होलिडे सेटअप’ गर्ने निर्णय गरेको छ ।
यो अवधिमा महसुल तिर्ने उपभोक्तालाई कुनै जरिवाना लाग्ने छैन, र काउन्टरमार्फत भुक्तानी गरिएको रकममा पनि समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले देशभरका सम्बन्धित कार्यालय र शाखाहरूलाई यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
