काठमाडौँ । मंगलबार सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूको दरबन्दी औसतमा २०% कटौती गर्ने निर्णय गरेको छ। संशोधित दरबन्दी संरचना २०८२ असोज २० भित्र मन्त्रिपरिषदमा पेश गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ। साथै, अनावश्यक सरकारी संरचना खारेज गर्ने, गाभ्ने वा हस्तान्तरण गर्ने प्रक्रिया तत्काल सुरु गरिने भएको छ।
बैठकले सिंहदरबार परिसरमा प्रवेश प्रणालीलाई कडाइ गर्ने र अत्यावश्यक अवस्थामा मात्र नयाँ प्रवेश पास जारी गर्ने निर्णय गरेको छ। मन्त्रालय र सुरक्षा निकायको नियमित काम सहज बनाउन सवारी साधन व्यवस्थापनका लागि शहरी विकास सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव र राजस्व सचिव सम्मिलित कार्यदल गठन गरिएको छ।
यसैगरी, आगजनीमा नष्ट भएका कार्यसम्पादन मूल्यांकन फाराम पुनः भर्ने र सम्पत्ति विवरण संकलन गर्ने तयारी गरिएको छ। नागरिकलाई प्रत्यक्ष सेवा दिने कार्यालयलाई प्राथमिकतामा राख्ने निर्णय पनि भएको छ। साथै, हालैका आन्दोलनमा चोरी वा लुटिएका सामान फिर्ता गर्न नागरिकलाई सार्वजनिक आह्वान गरिएको छ।
