Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

धरान उपमहानगरपालिकाको ०८२/०८३ का लागि बजेट सार्वजनिक

धरान उपमहानगरपालिकाको ०८२/०८३ का लागि बजेट सार्वजनिक

अर्थ प्लस
धरान उपमहानगरपालिकाको ०८२/०८३ का लागि बजेट सार्वजनिक

सुनसरी । लामो प्रतीक्षापछि सुनसरीको धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब २० करोड ५४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार उपमेयर अइन्द्रबिक्रम बेघाले नगरसभामा बजेट प्रस्तुत गर्दै यो वर्ष सामाजिक पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको बताए।

नगरपालिकाले २० वटै वडामा सन्तुलित विकास सुनिश्चित गर्न बजेट वितरण गरेको छ। कुल बजेटका स्रोतमा आन्तरिक राजस्वबाट ५० करोड ५३ लाख ६५ हजार, संघीय सरकारको अनुदानबाट ६५ करोड २१ लाख, प्रदेश सरकारको अनुदानबाट ७ करोड ७३ लाख, नेपाल सरकारको सडक कोष तथा अन्य निकायबाट २ करोड ७ लाख र बाँकी रकम राज्य बजेट साझेदारी र अन्य स्रोतबाट तयार गरिएको उपमेयर बेघाले बताए। 

यस वर्षको बजेटमा शिक्षा र स्वास्थ्य सुधार, खानेपानी समस्या समाधान, कृषि र पशुपालनमा लगानी, महिला र बालबालिकामैत्री कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, विपन्न वर्गको संरक्षण, सडक स्तरोन्नति र पूर्वाधार विकास, सफाइ अभियान र स्वरोजगार कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको छ।

बजेट ल्याउने समयमा विवाद भएपछि ढिलाइ भएको थियो। असार १० गते भित्र ल्याउनु पर्ने बजेट मेयर हर्क सम्पाङ, उपमेयर बेघा र वडाध्यक्षहरू बीचको असहमतिको कारण रोकिएको थियो। प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाईंका अनुसार अन्ततः सबै सरोकारवालाको सहमतिमा कार्यपालिका बैठकबाट बजेट पारित गरी नगरसभामा पेश गरिएको हो।

बजेट संयोजक उपमेयर बेघाले बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगर कार्यपालिकाका सदस्य, नगरसभा सदस्य, राजनीतिक दल, सरोकारवाला र स्थानीयवासीलाई सहकार्यका लागि आह्वान गरेका छन्।

सम्बन्धित समाचार