Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सरकारले सार्वजनिक ऋण संकलनका लागि तीन अर्बका दुई नयाँ बचतपत्र जारी

सरकारले सार्वजनिक ऋण संकलनका लागि तीन अर्बका दुई नयाँ बचतपत्र जारी

अर्थ प्लस
सरकारले सार्वजनिक ऋण संकलनका लागि तीन अर्बका दुई नयाँ बचतपत्र जारी

काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋण जुटाउन दुई प्रकारका बचतपत्र बिक्रीका लागि खुला गरेको छ । कार्यालयले रु. २ अर्ब ५० करोडको ‘नागरिक बचतपत्र-२०८७’ र रु. ५० करोडको ‘वैदेशिक रोजगार बचतपत्र-२०८७’ जारी गर्दैछ ।

यी दुवै पाँच वर्षे बचतपत्र खरिदका लागि मंसिर २५ गतेसम्म आवेदन दिन सकिनेछ र मंसिर २८ गते निष्कासन हुनेछन् । नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याज पाइनेछ ।

ब्याज हरेक ६/६ महिनामा खरिदकर्ताको बैंक खातामा जम्मा हुनेछ । न्यूनतम रु. १० हजार र अधिकतम कुल निष्कासित रकम नबढ्ने गरी रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने रकममा खरिद गर्न सकिनेछ ।

नागरिक बचतपत्र नेपाली र गैरआवासीय नेपालीले किन्न सक्नेछन् । वैदेशिक रोजगार बचतपत्र विदेशमा काम गर्ने वा फर्केको ६ महिना नपुगेका नेपाली, गैरआवासीय नेपालीले आफू वा परिवारको नाममा खरिद गर्न सक्नेछन् । डोम्स (DOMS) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत आवेदन दिन सकिन्छ ।

विगतमा नागरिक बचतपत्र पूर्ण बिक्री हुने तर वैदेशिक रोजगार बचतपत्रमा कम चासो देखिने गरेको छ । लगानीकर्तालाई बचतपत्रबारे जानकारी अभावले कम खरिद हुने गरेको कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए ।

“बचतपत्र के हो, किन र कसरी लगानी गर्ने भन्ने धेरैलाई थाहा छैन । खरिदकर्ता बढ्दै गए पनि अझै धेरैलाई जानकारी पुगेको छैन,” उनले भने ।

पछिल्लो चार दिनमा मात्र नागरिक बचतपत्रका लागि रु. ८० करोडको आवेदन परेको छ । यो वर्ष तोकिएको समयअगावै बिक्री सकिने अनुमान छ । पहिले आवेदन दिनेले पहिले पाउने गरी ‘स्टक’ रूपमा जारी हुन्छ ।

बचतपत्रको ब्याज बैंक मुद्दतीभन्दा आकर्षक रहेको र यो सुरक्षित, सहज तथा राम्रो प्रतिफल दिने सरकारी उपकरण भएको पुडासैनीले बताए । “घरजग्गा, सुन, सेयर, मुद्दतीजस्ता विकल्पभन्दा बचतपत्र सुरक्षित छ,” उनले भने ।

बचतपत्रमा सरकारले मूलधन ग्यारेन्टी गर्छ । ब्याज हरेक ६ महिनामा खातामा आउँछ । धितो राखेर ऋण लिन सकिन्छ । दोस्रो बजारमा सजिलै बिक्री हुन्छ र बैंकहरूले किन्नैपर्ने व्यवस्था छ । यसैले तत्काल नगदमा बदल्न सकिन्छ ।

सम्बन्धित समाचार