Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

दरमखोला हाइड्रोपावरले सुरु गर्यो व्यावसायिक उत्पादन

दरमखोला हाइड्रोपावरले सुरु गर्यो व्यावसायिक उत्पादन

अर्थ प्लस
दरमखोला हाइड्रोपावरले सुरु गर्यो व्यावसायिक उत्पादन

काठमाडौं : बागलुङको दर्मखोला हाइड्रोपावरले औपचारिक रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। ९.६ मेगावाट क्षमताको यो आयोजना आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

दर्मखोला हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित यो जलविद्युत् आयोजना गत असोज ३० गते नेपालको केन्द्रीय प्रसारण लाइनमा जोडिएको थियो। वि.सं. २०६५ मा नैुरुमा सर्भे तथा अनुमतिपत्र लिएको यो आयोजनाको वास्तविक निर्माण भने २०७७ सालबाट मात्र सुरु भएको थियो।

आयोजनाको ड्याम गलकोट नगरपालिका–८ काँडेबासमा र विद्युत्गृह करिब साढे ४ किलोमिटर पश्चिम मनेवापाटामा रहेको छ। उत्पादित विद्युत् १४ किलोमिटर टाढा हरिचौर सबस्टेसनमा जोडिएको आयोजनाका इन्जिनियर मिथिलेस चौधरीले बताए। उनका अनुसार बर्खायाममा पूर्ण ९.६ मेगावाट उत्पादन हुने भए पनि हिउँदमा हाल ६.६ मेगावाट मात्र उत्पादन भइरहेको छ।

सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले लाइसेन्स लिए पनि काम अघि नबढाएपछि अनुमतिपत्र खारेज भई दर्मखोला हाइड्रो इनर्जी लिमिटेडले जिम्मेवारी लिएको थियो। निर्माणको ठेक्का रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेडले पाएका थिए।

कम्पनीका अध्यक्ष नरबहादुर पुनका अनुसार विभिन्न अवरोधका कारण ढिला भएको आयोजनामा दुई अर्बभन्दा बढी लगानी भएको छ। उनले भने, “बागलुङ जिल्लामै अहिलेसम्म बनेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो यो। १७ वर्षअघि अनुमतिपत्र लिएर पनि काम सुरु नहुँदा ढिला भयो, तर अहिले सफलतापूर्वक सम्पन्न गरेका छौँ।”

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएसँगै बागलुङका दुर्गम क्षेत्रमा समेत भरपर्दो विद्युत् आपूर्ति हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार