Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सूर्य नेपाल सेन्ट्रल ओपनमा लगातार तेस्रो दिन राहुललाई अग्रता

सूर्य नेपाल सेन्ट्रल ओपनमा लगातार तेस्रो दिन राहुललाई अग्रता

अर्थ प्लस
सूर्य नेपाल सेन्ट्रल ओपनमा लगातार तेस्रो दिन राहुललाई अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा पाँच स्ट्रोकको अग्रतामा शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।

राहुलले प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका हुन् । राहुलले आज १–ओभर ७३ को स्कोर बनाउँदा समग्रमा १०–अन्डर २०६ स्कोर बनाएका छन् ।

जयरामले आज ४–अन्डर ६८ को स्कोर निकाल्दा समग्रमा ५–अन्डर २११ स्कोर बनाउँदै दोस्रो स्थानमा उक्लन सफल रहे । भुवनकुमार रोक्काले ४–ओभर ७६ मा आजको खेल सकाए । उनी समग्रमा इभन–पार ७२ सहित तेस्रो स्थानमा झरे ।

समग्रमा २–ओभर २१८ सहित तोरणविक्रम शाही, शुक्रबहादुर राई र दिनेश प्रजापति संयुक्त रूपमा चौथो स्थानमा छन् । तोरणले दिनकै उत्कृष्ट ६–अन्डर ६६ को कार्ड बनाए । यो स्कोरमा तोरण १० स्थानमाथि उक्लिएका छन् । शुक्र र दिनेशले इभन–पार ७२ मा तेस्रो दिनको खेल पूरा खेले ।

नेपाल नम्बर एक प्रो खेलाडी निरज तामाङ, भुवन नगरकोटी र एमेच्योर गल्फर रुबेन थापा संयुक्त –पमा सातौँ स्थानमा रहे । उनीहरूले समग्रमा ६–ओभर २२२ स्कोर बनाए । रूबेन र निरजले ४–ओभर ७६ को स्कोर गर्दा भुवनले ५–ओभर ७७ को खराब प्रदर्शन गरे ।

यस्तै, प्रदीपकुमार लामा र एमेच्योर साम डोबलार्ड समग्रमा ७–ओभर २२३ सहित संयुक्त रूपमा दशौँ स्थानमा छन् । प्रदीपले २–ओभर ७४ र सामले १–ओभर ७३ को स्कोर निकाले ।

लगातार तेस्रो दिन शीर्षस्थानमा रहेका राहुलले आज फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा पहिलो, पाँचौँ र सातौँ होलमा बर्डी प्रहार गरे । तर, छेटौँ होलमा बोगी र ३–पारको आठौँ होलमा डबल बोगीको समना गरे । यसपछि १४औँ होलको बोगीले ब्याक नाइन १–ओभर ३७ मा सकाए ।

जयरामले दोस्रो होलको बोगीविरूद्ध पहिलो, चौथो र सातौँ होलमा तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा २(अन्डर ३४ खेले । यसपछि १२औँ, १३औँ र १७औँ होलमा एक–एक सट बचाए । १४औँ होलको बोगीले ब्याक नाइनमा पनि २–अन्डर ३४ मा पूरा गरे ।

भुवनले पाँचौँ होलमा बर्डी प्रहार गरे पनि छैटौँ र आठौँ होलको बोगीले फ्रन्ट नाइन १–ओभर ३७ खेले । ब्याक नाइनमा झनै खराब प्रदर्शन गर्न पुगे । १२औँ होलमा इगलको सफलता प्राप्त गरे । तर, यसपछि १४औँ होलमा डबल बोगी तथा १३औँ, १६औँ र १८औँ होलमा पनि एक–एक सट खेर फाले । ब्याक नाइन ३–ओभर ३९ मा सकाए ।

यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । उपाधि विजेताले एक लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले एक लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले एक लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन् ।

सम्बन्धित समाचार