काठमाण्डौ – होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै आईपीओ जारी गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डले गत पुस २० गते कम्पनीलाई ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
यो आईपीओ निष्कासन छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ ल्याउने तयारी गरेको छ।
