Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

अर्थ प्लस
जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

संस्थाका अध्यक्ष बिक्रमराज सुवेदीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई साधारणसभाले अनुमोदन गरेको हो

बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पूँजी वृद्धि भएको छ । जीवन विकासको चुक्ता पूँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ थियो । १४ प्रतिशतका दरले हुने २१ करोड ५० लाख ६४ हजार ५४ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पूँजी १ अर्ब ७५ करोड १२ लाख ३५ हजार ६०० रुपैयाँ पुगेको छ । जीवन विकास लघुवित्तले लगानीकर्तालाई प्रतिफल वितरणमा निरन्तरता दिँदै आएको छ । यसअघि पनि संस्थाले लगातार दुई वर्ष १४ प्रतिशतकै दरले बोनस सेयर वितरण गरेको थियो ।

साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक एवं पूर्व सांसद योगेन्द्र मण्डलले बैंक तथा वित्तीय संस्थालाई कमजोर बनाउन विभिन्न पक्षबाट योजनावद्ध प्रहार भइरहेको बताए । ‘अहिले बैंक र लघुवित्तलाई योजनावद्ध रूपमा क्षति पुर्‍याउन खोजिएको छ, यो एकदमै गलत कार्य हो,’ मण्डलले भने, ‘नेपाल गरिब भयो भने वैदेशिक शक्तिलाई सजिलो हुन्छ । खाडी र ठूला देशहरू नेपाल सधैं गरिब रहिरहोस् भन्ने चाहन्छन् ।’

ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको लघुवित्त क्षेत्रलाई बलियो बनाउन सबै पक्षको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । गरिब र विपन्न वर्गको उत्थानका लागि स्रोत जुटाउने उद्देश्यले जीवन विकासको स्थापना भएको स्मरण गर्दै उनले बेरोजगारी अन्त्यका लागि संस्थाले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गरिरहेको बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष बिक्रमराज सुवेदीले प्रतिकुल अवस्थामा पनि जीवन विकासले सदस्यको घरदैलोमा पुगेर लघुवित्त र सामाजिक सेवा प्रवाह गरिरहेको बताए । संस्थालाई दरिलो बनाउन कर्मचारीको मेहनत उच्च रहेको बताउँदै उनले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत पनि काम गरिरहेको बताए ।

सञ्चालक सदस्य बन्दना जैनले जीवन विकासले वित्तीय सेवा प्रवाह मात्र नभइ सामाजिक र आर्थिक रुपान्तरणको सशक्त माध्ययम भएको बताइन् । वित्तीय पहुँचबाट बञ्चीत रहेको समुदायसम्म पुगेर स्वरोजगार अभियान सञ्चालन गर्नु जीवन विकासको मुख्य उदेश्य रहेको बताइन् ।

जीवन विकासका सञ्चालक सदस्य गोकर्ण खतिवडाले गरिबी न्युनिकरणका लागि जीवन विकासको अभियान प्रभावकारी रहेको बताए । जीवन विकास राम्रो अवस्थामा रहेको बताउँदै उनले अझ राम्रो बनाउने बताए । संस्थामा देखिएका समस्यालाई समाधान गर्ने बताउँदै उनले भने,‘ जीवन विकास राम्रो छ, अझ राम्रो हुँदै जान्छ ।’ संस्थाको सञ्चाकलदेखि कर्मचारी सबैको ध्यान संस्थाको विकासमा केन्द्रीत रहेको उनको भनाई छ ।

जीवन विकासका सञ्चालक प्रकाशकुमार श्रेष्ठले लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान गर्दै अघि बढ्नु पर्ने बताए । कर्मचारीको योगदानका कारण संस्थाले राम्रो उपलब्धी हासिल गरेको बताउँदै उनले संस्थाले थप प्रगति गर्ने विश्वास व्यक्त गरे ।

सञ्चालक श्यामचन्द्र खतिवडाले संस्थाले आफ्नो सेवालाई प्रभावकारी रुपमा अघि बढाउने बताए । कर्मचारीको मेहनतका कारण संस्थाका सेयर सदस्यले मुनाफा वितरण गर्ने अवस्था बनेको बताउँदै उनले जीवन विकासले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरिरहेको बताए ।

सामुदायीक महिला विकास केन्द्र स्वेडेकका कार्यबाहक अध्यक्ष माधवप्रसाद देवले जीवन विकासले आफ्नो लक्ष्य अनुसार काम गरिरहको बताए । आफ्ना सदस्यको जीवन स्तर उकास्नका लागि जीवन विकासले ध्यान दिएको उनले बताए । गरिबी निवारणको अभियानलाई सफल बनाउन उनले आग्रह गरे ।

जीवन विकास सामाजकी अध्यक्ष रिवोलदेवी मण्डलले जीवन विकासका कर्मचारीको महेनतले संस्थाले प्रगति गरिरहेको बताइन् । गरिबी निवारणको अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्दै उनले जीवन विकासले थप प्रगति गर्दै जाने बताइन् ।

सल्भ नेपालका राजेन्द्र प्रधानले जीवन विकासले प्रभावकारी रुपमा सामाजिक अभियान सञ्चालन गरिरहेको बताए । लघुवित्त वित्तीय संस्थाविरुद्ध सञ्चालन भएका गतिविधीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए ।उनले नेपालमा गरिबी निवारणका लागि लघुवित्त वित्तीय संस्थाले ठूलो भूमिका निर्वाह गरिरहेको बताए । संस्थाको सेवालाई इनोभेटिक रुपमा सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले जीवन विकासले वित्तीय र सामाजिक सेवालाई सदस्यको घरदैलोमा पुर्याएर सेवा प्रवाह गरिरहेको बताए । लघुवित्त क्षेत्रमामा देखिएको कठिनाइका बीच जीवन विकासले लघुवित्त र सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको उनले बताए । संस्थालाई अझ प्रभावकारी रुपमा अघि बढाउनुपर्ने बताउँदै उनले गैर सरकारी संस्थाको पृष्टभूमिबाट उदाएका लघुवित्त वित्तीय संस्थाहरुलाई एकतावद्ध रुपमा अघि बढाउन आग्रह गरे । संस्थाका कर्मचारीको मेहनतले जीवन विकासलाई अघि बढाएको उनको भनाइ छ ।

जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले संस्थाले सेवा प्रवाहलाई निरन्तर प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताए ।

लघुवित्त वित्तीय संस्थामाथि प्रहार भइरहेको अवस्थामा पनि जीवन विकासले वित्तीय सेवा सगै सामाजिक अभियान समेत निरन्तर सञ्चालन गरिरहेको बताए । ‘लघुवित्त क्षेत्रमा विगत तीन वर्षदेखि समस्या भोगिरहेका छौं,’उनले भने,‘ जीवन विकास यो अवधीमा निकै सबल र मजबुद भएको छ, जीवन विकासको सेवा प्रवाह गर्ने मुख्य माध्यम केन्द्रहरु हुन्, केन्द्रको गुणस्तर सुधार भएको छ ।’ त्यसैले आगामी दिनमा लघुवित्त कार्यक्रम अझ सशक्त ढंगमा अघि बढ्नेछ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी चार वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित गरेको हो ।

संस्थाको निर्वाचन प्रकृयामा दुवै पदका लागि एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । यसअघि पनि उनीहरूले संस्थाको सञ्चालकका रूपमा जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका छन् ।

सम्बन्धित समाचार