काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमासमा २० करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको १२ करोड १७ लाख रुपैयाँ नाफाभन्दा ६९.२५ प्रतिशतले बढी हो।
नाफासँगै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ। अघिल्लो आवमा ६० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा ६७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ।
कम्पनीको वित्त खर्च २८ करोड ९६ लाखबाट घटेर २४ करोड ६६ लाखमा सीमित बनेको छ भने ह्रासकट्टी खर्च १४ करोड ५६ लाखबाट बढेर १५ करोड ७७ लाख पुगेको छ। अन्य सञ्चालन खर्च पनि १ करोड ५३ लाखबाट घटेर १ करोड १३ लाखमा सीमित भएको छ।
कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ। रिजर्भको आकार १५ करोड ४ लाखबाट बढेर ३४ करोड ७४ लाख पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ४५ करोड ७० लाख र कुल चालु दायित्व ३५ करोड ५१ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.७६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४४२.३६ रुपैयाँ र तरलता अनुपात १.२९ प्रतिशत कायम भएको छ।
