काठमाण्डौ – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म हाइड्रोपावर कम्पनीहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। प्रकाशित वित्तीय विवरणअनुसार, समग्रमा हाइड्रो कम्पनीहरूले ६ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १०२.५७ प्रतिशतले बढी हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ९७ हाइड्रो कम्पनीमध्ये ९३ कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन्। तीमध्ये ७६ कम्पनी नाफामा उक्लिएका छन् भने १७ कम्पनी घाटामा देखिएका छन्। गत वर्षको सोही अवधिसम्म २८ कम्पनी घाटामा थिए।
सबैभन्दा बढी नाफा कमाउनेमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ, जसले ९९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष यसै अवधिमा कम्पनीले ८२ करोड २१ लाख घाटा ब्यहोरेको थियो। विद्युत बिक्री आम्दानीमा पनि कम्पनीले ८१.४४ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ।
त्यस्तै, दोस्रो स्थानमा साहज उर्जा रहेको छ, जसले ९० करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २७.४६ प्रतिशत बढी हो। विद्युत बिक्री आम्दानीमा पनि ५.५२ प्रतिशत वृद्धि भएको छ।
विद्युत बिक्री आम्दानी समग्रमा २४.९८ प्रतिशतले बढ्दै २८ अर्ब १० करोड रुपैयाँ पुगेको छ। यसले कम्पनीहरूको नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ।
तर सबै कम्पनी नाफामा छैनन्। रसुवागढी हाइड्रोपावरले सबैभन्दा बढी घाटा ब्यहोरेको छ, जसको घाटा १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी (EPS)मा पनि सुधार देखिएको छ। सबैभन्दा बढी EPS साहज उर्जाको ३९.५७ रुपैयाँ रहेको छ। त्यसपछि राधी विद्युत कम्पनी (३२.४६), अप्पर तामाकोशी (२९.८१), मान्डु हाइड्रो (२६.८५) लगायतका कम्पनीहरू उच्च EPS भएका छन्।
