काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। यस्तै, २० हजार ८०० कित्ता कर्मचारी तथा ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ ।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
