Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

डाइजेस्टिभ बिस्कुटमा रौँ भेटिएपछि २ लाख जरिवाना, उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्दै एसियन बिस्कुट

डाइजेस्टिभ बिस्कुटमा रौँ भेटिएपछि २ लाख जरिवाना, उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्दै एसियन बिस्कुट

अर्थ प्लस
डाइजेस्टिभ बिस्कुटमा रौँ भेटिएपछि २ लाख जरिवाना, उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्दै एसियन बिस्कुट

सुनसरीको दुहबीमा रहेको सारदा ग्रुपअन्तगर्त सञ्चालित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएको घटनापछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उद्योगद्वारा उत्पादित ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौं भेटिएको भन्दै विभागमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले उद्योगको उत्पादन स्थलमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा टोलीले उजुरी परेको ब्रान्डको बिस्कुटको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। परीक्षणको प्रतिवेदनपछि उत्पादनमा कैफियत देखिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३५ को खण्ड ‘ङ’ बमोजिमको कसुर पुष्टि भएपछि सोही ऐनको दफा ३९ को उपदफा ९(१) को खण्ड ‘ख’ अनुसार उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो।

विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले प्रमाणित विवरणअनुसार उद्योगलाई जरिवाना बापतको रकम सात दिनभित्र सरकारी खातामा जम्मा गरी सोको प्रमाण पेश गर्न आदेश दिइएको छ।

विभागले घटनासँग सम्बन्धित बिस्कुटका तस्बिरहरू सार्वजनिक गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने कुनै पनि उद्योगलाई कडाइका साथ कारबाही गरिने स्पष्ट पारेको छ।

याे कम्पनी सन् २०१२ मा भएको हो र यसको प्लान्ट सुनसरीको दुहबीमा अवस्थित छ, जुन नेपालकै सबैभन्दा ठूलो बिस्कुट कारखानामध्ये एक मानिन्छ। यहाँ अत्याधुनिक पूर्वाधारसहित पूर्ण रूपमा स्वचालित उत्पादन प्रणाली सञ्चालनमा रहेको छ।

कम्पनीसँग ६ बेकिङ जोन भएको २५० फिट लामो बेकिङ युनिट रहेको छ, जसमा उत्तम हावा प्रवाह (एयरफ्लो) र मध्यम तापक्रम कायम गरी बेकिङका लागि उपयुक्त वातावरण तयार गरिएको छ। उत्पादनको गुणस्तर र स्वास्थ्य सुनिश्चित गर्न उच्चस्तरीय गुणस्तर नियन्त्रण प्रणाली अपनाइएको कम्पनीले दावी गर्दै आएकाे छ।

 प्रविधि र गुणस्तरका हिसाबले यो कम्पनी अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग बराबरी स्तरमा रहेको दावी गर्ने याे उद्योगकै उत्पादनमा राैँ भेटिएकाे हाे ।

सम्बन्धित समाचार