Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

श्वेतपत्रमार्फत बालेन सरकारको आर्थिक सुधारः पहिलेको अर्थतन्त्र र आगामी रणनीति

श्वेतपत्रमार्फत बालेन सरकारको आर्थिक सुधारः पहिलेको अर्थतन्त्र र आगामी रणनीति

अर्थतन्त्रलाई दीर्घकालीन रूपमा रूपान्तरण गर्न जलविद्युत, सूचना प्रविधि, पर्यटन र उद्यमशीलतालाई प्रमुख आधार बनाइने

अर्थ प्लस
श्वेतपत्रमार्फत बालेन सरकारको आर्थिक सुधारः पहिलेको अर्थतन्त्र र आगामी रणनीति

काठमाडौँ / अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र (श्वेतपत्र) सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणपछि घोषणा गरेअनुसार तयार पारिएको उक्त प्रतिवेदनले मुलुकको आर्थिक अवस्था, चुनौती र आगामी दिशाबारे विस्तृत विश्लेषण प्रस्तुत गरेको छ।

स्थितिपत्रअनुसार नेपालले आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। साथै ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर नजिक पुर्‍याउने लक्ष्य लिइएको छ। 

आगामी पाँच वर्षभित्र विद्युत् जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउने तथा राष्ट्रिय गौरवका आयोजनाहरू दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य पनि उल्लेख गरिएको छ।

मन्त्रालयले जारी गरेको प्रतिवेदनमा पूर्वाधार विकास, निजी लगानी आकर्षण र रणनीतिक आयोजनाहरूको विकासमार्फत आर्थिक वृद्धि तीव्र बनाइने उल्लेख छ। विगतमा कमजोर कार्यान्वयन क्षमता, सीमित वित्तीय स्रोत र प्राथमिकता निर्धारणको कमजोरीका कारण अपेक्षित नतिजा नआएको विश्लेषण पनि गरिएको छ। साथै, आगामी दिनमा स्रोतको कुशल परिचालन र नतिजामुखी कार्यान्वयन आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

त्यसैगरी सार्वजनिक गरिएको अर्को विश्लेषणमा विगत एक दशकमा औसत आर्थिक वृद्धि ४.२ प्रतिशत मात्र रहेको र चालु आर्थिक वर्षमा ३.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत) पुगेको, राजस्वले चालु खर्च धान्न कठिन भएको र पुँजीगत खर्च कमजोर रहेको उल्लेख छ। साथै नेपाल FATF को ग्रे–लिष्टमा पर्दा लगानी वातावरण प्रभावित भएको पनि प्रतिवेदनमा समेटिएको छ।

उद्योग क्षेत्रको योगदान घटेर १२.८ प्रतिशतमा झरेको र अर्थतन्त्र रेमिट्यान्समा अत्यधिक निर्भर भएको अवस्थामा संरचनात्मक सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ। अर्थतन्त्रलाई दीर्घकालीन रूपमा रूपान्तरण गर्न जलविद्युत, सूचना प्रविधि, पर्यटन र उद्यमशीलतालाई प्रमुख आधार बनाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले श्वेतपत्रलाई आगामी आर्थिक नीति निर्माण, स्रोत परिचालन, प्राथमिकता निर्धारण र आर्थिक स्थायित्वका लागि मार्गदर्शक दस्तावेजका रूपमा उपयोग गरिने उल्लेख गरिएकाे छ ।

सम्बन्धित समाचार